विपद्‌को पूर्वतयारी र उद्धार प्रभावकारी हुन नसकेको सरोकारवालाको निष्कर्ष

जल तथा मौसम विज्ञान विभागले समयमा नै जानकारी प्रदान गरे पनि अन्य सरोकारवाला निकायले समयमा नै आवश्यक पूर्वतयारी गर्न नसकेको सहभागीले बताएका छन्। 

काठमाडौँ– पछिल्लो वर्षाका कारण सिर्जना भएको विपद्को पूर्वतयारी तथा राहत र उद्धारकार्य प्रभावकारी हुन नसकेको सरोकारवालाले बताएका छन्। 

ग्लोबल सेन्टर फर क्लाइमेट एन्ड सेक्युरिटी गभर्नेन्स (जीसीएसजी)ले आयोजना गरेको विपद् र उद्धार कार्य आवश्यकता र मूल्यांकन सम्बन्धी समीक्षामा यस्तो बताएका हुन्। 

संस्थाका कार्यकारी निर्देशक अभयराज जोशीका अनुसार राजनीतिक दलका नेता, सुरक्षा निकायका अधिकारी, पूर्व पदाधिकारी र विषय विज्ञसमेत सहभागी छलफलमा विपद् न्यूनीकरण र रोकथाममा सरकारले गरिरहेको काम र गर्नुपर्ने कामका बारेमा छलफल भएको थियो। 

सहभागीले पछिल्लो वर्षात‍‍्को‌ पूर्वानुमानका सम्बन्धमा जल तथा मौसम विज्ञान विभागले समयमा नै जानकारी प्रदान गरे पनि अन्य सरोकारवाला निकायले समयमा नै आवश्यक पूर्वतयारी गर्न नसकेको बताए। 

उद्धारमा खटिएका सुरक्षा निकायसँग आवश्यक बन्दोवस्तीका सामान र दक्ष जनशक्तिको कमी, प्रधानमन्त्री, अर्थमन्त्री, प्रहरी महानिरीक्षक र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी अधिकृतलगायत व्यक्ति देश बाहिर हुनु र मुख्य सचिव काठमाडौँ बाहिर हुनुले पनि समन्वयमा कमी भएको उनीहरूको धारणा थियो। 

 नेपालमा विपद् र प्राकृतिक प्रकोप न्यूनीकरण, रोकथाम र उद्धारसम्बन्धी आवश्यक ऐन, कानून भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको कार्यक्रममा बताइएको छ। विपद्‌ले सरकार र अन्य सरोकारवालाका लागि महत्त्वपूर्ण शिक्षा प्रदान गरेको निष्कर्षमा विज्ञ एकमत रहे। विपद्‌ व्यवस्थापनका लागि अधिकार सम्पन्न संरचना, दक्ष जनशक्ति र स्रोतसाधनको सम्बन्धमा उपयुक्त निर्णय र गृहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। 

अन्तरक्रियामा पूर्वउपसभामुख पुष्पा भुसाल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वमन्त्री सीता गुरुङ, पूर्वसांसद डा. दीपकप्रकाश भट्ट, पूर्वरथी बालानन्द शर्मा, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक पुष्पराम खत्री, नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्की, पूर्वडीआईजी हेमन्त मल्ल, केशबहादुर शाही, एसएसपी विश्व अधिकारी, सशस्त्र प्रहरीका एसएसपी दिगविजय सुवेदी, आमोद गुरुङ, रतिन्द्र खत्री, उपप्राध्यापक चिरञ्जीवी भण्डारी, डा. विकल श्रेष्ठलगायत उपस्थित थिए। 

हालै संस्थाले राष्टसंघको महासभाको अवसरमा अमेरिकामासमेत सरोकारवाला निकायसँग जलवायु परिवर्तनलगायत विषयमा छलफल गरेको थियो। कार्यकारी निर्देशक जोशी, पूर्वसांसद डा. दीपकप्रकाश भट्टसहितको सहभागितामा छलफल गरिएको थियो।