बाढीपहिरो: १७ हजारभन्दा बढी प्रभावितको उद्धार

सबैभन्दा बढी काभ्रेपलान्चोकमा ७२ जनाको मृत्यु भएको छ। त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको गृह मन्त्रालयले जनाएको छ।

तस्वीर: रासस।

काठमाडौँ– हालैको बाढीपहिरोमा परी आइतबार बिहानसम्म २४४ जनाको मृत्यु भएको छ। १९ जना बेपत्ता र अन्य १७९ घाइते भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छ। सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ। 

“पीडितको विवरण स्थानीयस्तरबाट संकलन भइरहेको छ। त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ,” उनले भने, “प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ।”

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई लाख रुपैयाँका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ। त्यस्तो सहायता १६० परिवारले पाइसकेका छन्।

सबैभन्दा बढी काभ्रेपलान्चोकमा ७२ जनाको मृत्यु भएको छ। त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए।