विद्युत् खपत बढाउन पूर्वाधार विकासमा केन्द्रित छौँ: कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम पूरा गर्ने चरणमा प्राधिकरण पुगेको बताएका छन्।

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढाउनका लागि प्राधिकरणले विद्युतीय पूर्वाधार विकासमा लगानी केन्द्रित गरेको बताएका छन्।

बिहीबार ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरणले विद्युतीकरणका लागि आवश्यक पूर्वाधारको विकासमा लगानी केन्द्रित गरेको बताएका हुन्।

उनले नेपालमा उत्पादित विद्युत् नेपालमा नै खपत गराउनका लागि विभिन्न इभी एक्स्पोहरू भइरहेको बताए। उनले विद्युत् खपतका लागि चार्जिङ स्टेसनहरू विस्तार र इन्डक्स कुकिङलाई प्राथमिकता दिँदै आएको बताए।

घिसिङले विद्युत् प्रसारण, वितरण र सब स्टेसनको विकास नभई विद्युत् खपत बढाउन नसक्ने बताए। उनले प्राधिकरण गुणस्तरीय विद्युत् र चाहेजति विद्युत् सप्लाई गर्ने पूर्वाधार निर्माण गर्ने चरणमा रहेको बताए। उनले गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम पूरा गर्ने चरणमा प्राधिकरण पुगेको बताए।

"विद्युतीय पूर्वाधार निर्माणमा प्राधिकरणको ठूलो लगानी भइरहेको छ। प्राधिकरण निरन्तर, गुणस्तरीय विद्युत् र चाहेजति विद्युत् सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा छौँ। गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम पूरा गर्ने चरणमा पुग्दैछौँ", उनले भने।

उनले अबको २ वर्षपछि नेपालले विद्युत् आयात गर्नुपर्ने अवस्था नआउने बताए। उनले वर्षाको समयमा विद्युत् निर्यात गरिरहेको भन्दै विद्युत् निर्यात गर्नु सरकारको सफलता नभए तापनि खपत नभएको विद्युत्लाई खेर फाल्नुभन्दा निर्यात गर्नु राम्रो भएको सुनाए। उनले  विद्युत् खपत बढाए मात्रै मुलुकमा समृद्धि आउने भन्दै एक युनिट विद्युत् पनि खेर फाल्नु नहुने बताए।