खसीबोकाको बिक्री खुला, सिङमा हरियो रङ लगाएका खरिद गर्न सुझाव

काठमाडौँमा पश्चिम तराई र आसपासका  सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट खसीबोका ल्याइएको छ। हरेक वर्ष दशैँमा ४५ हजार खसीबोका ल्याइने गरेको छ।

काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्यांग्राको बिक्री खुला गरेको छ। पश्चिम तराई र आसपासका  सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट खसीबोका ल्याइएको छ।  

चौपाया खरिद बिक्री संघका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढीपहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ। हरेक वर्ष दशैँमा काठमाडौँ उपत्यकामा ४५ हजार खसीबोका ल्याइने गरेको छ। यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्यांग्रा ल्याइँदै छन्। 

काठमाडौँ उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो ७२० देखि  ७५५, पहाडका खसी ६७० देखि ७०५, बोका ६७० देखि ७२० र च्यांग्रा प्रतिकिलो एक हजार ३०० रुपैयाँमा बिक्री भइरहेका छन्। काठमाडौँ उपत्यकाको टुकुचा खोला किनारको बजारबाट ११ हजार खसीबोका बिक्री हुने गरेको अध्यक्ष खत्रीले जानकारी दिए।

पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशु चिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको जनाएको छ। टुकुचामा खसीबोका स्वास्थ्य परीक्षण गरिरहेका पशु चिकित्सक योगेन्द्रप्रसाद शर्माले स्वस्थ खसी बोकाको सिङमा हरियो र बिरामीलाई रातो रङ लगाएको बताए। 

“स्वस्थ खसीबोका बिक्री हुन्छन्, बिरामी बेच्न दिइन्न,” स्वस्थ चौपाया खरिद गर्न सुझाउँदै उनले भने।