दशैँ मान्न भारतबाट घर फर्किँदै नेपाली

कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीले जनाएको छ।

कैलाली– नेपालीको महान् चाड बडादशैँ तथा दीपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएकाहरू घर फर्कन थालेका छन्। कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीले जनाएको छ।

त्रिनगर सीमा नाकाबाट एक सातामा ६ हजार ९४७ जना नेपाली भित्रिएका सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए। उनका अनुसार यही असोज १२ गते ३१८, १३ गते ३०४, १४ गते ३९८, १५ गते ६३०, १६ गते ६८०, १७ गते एक हजार ९०, १८ गते एक हजार ५६९ र १९ गते एक हजार ९५८ जना नेपाली भारतका विभिन्न शहरबाट घर फर्किएका हुन्।

यात्रुहरूको आवतजावतमा सहजताका लागि बडादसैँ, तिहार र छठ पर्वसम्म सीमा नाकामा यात्रु सहायता कक्षसमेत निर्माण गरिएको छ। बाजुराका मनोज कडारा पाँच जना परिवारसहित सोही नाकाबाट घर फर्कएका छन्। १० वर्षदेखि भारतको मुम्बईमा सेक्युरिटी गार्डको जागिर गर्दै आएका कडाराले चाडपर्व मनाउनका लागि घर फर्केको बताए। 

भन्सार सीमा नाकामा हेल्प डेस्क निर्माणसँगै घर फर्कँदा पहिलाभन्दा धेरै सहज भएको उनको भनाइ छ। “चाडपर्वमा परिवारका सदस्यबीच एकसाथ भेटघाट हुने, मीठामीठा स्थानीय खानाका परिकार खाइ रमाइलो गरी मनाउने गरिन्छ,” कडाराले भने, “जसले घर बाहिर लामो समय एक्लो भएर बस्दाको तनाव कम हुन्छ।” 

भारतको राजकोटबाट रोजगारी गरी घर फर्कँदै गरेकी कैलालीको बौनियाकी शारदा साउदले बडादशैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाट र खेतीपाती भित्र्याउन आफू घर फर्केको बताइन्। भारतको मुम्बईमा होटलमा रोजगारी गरी फर्कँदै गरेका कञ्चनपुरको पुनर्वास नगरपालिकाका रोशन विश्वकर्माले चाडपर्व मनाउनका लागि घर फर्केको बताए।

यस क्षेत्रका सर्वसाधारण युवा रोजगारी गर्न छिमेकी मुलुक भारत जाने गर्दछन्। खेतीपाती भएकाहरू आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिन्जेल भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्दछन् भने खेतीपाती नहुनेहरू लामो समयको अन्तरालपछि चाडबाड मनाउन घर आउने गरेका पाइन्छन्। 

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका मानिस रोजगारका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पन्जाब, अहमदाबादलगायत ठूला शहरमा जाने गर्दछन् । बिनाभिसा जान पाइने र रोजगारी पनि सहजै प्राप्त हुने भएकाले पनि धेरैजसो नेपाली रोजगारीका लागि भारत जाने गरेका हुन्।