हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरण प्रभावकारी बनाउन निर्देशन

गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

ललितपुर– गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरमा आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उनले हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरण गर्न निर्देशन दिएका हुन्।

“विपद्को समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एककार भएर काम गर्नुपर्छ, ललितपुरमा ४५ जनाको मृत्यु भएको तथ्यांक छ र सरकारले दिने दुई लाख रुपैयाँ राहत ३९ जनाले पाउनुभएको छ,” उनले भने, “बाँकी ६ जनाले पनि तत्कालै पाउनुहुन्छ, पूर्ण रूपले घर क्षति भएका पाउन योग्य लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउनुस्, प्राधिकरणले नाम प्राप्त गरेको तीन दिनभित्र लाभग्राहीलाई पैसा पठाउँछ।”

नागरिकले खुला आकाशमुनि बस्न नपरोस् भन्दै गृहमन्त्री लेखकले नागरिकले प्रमुख जिल्ला अधिकारी आएपछि पानी खान पाउँछु भनेर बस्नुपर्ने अवस्था आउन नहुने बताए।

“एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिए पनि स्थानीय तहको जिम्मेवारीमा दिन सकिन्छ, सम्बन्धित पालिकाको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखेर राहत व्यवस्थापन गर्न सकिन्छ, तहगत विभाग र विद्युत्, खानेपानी र सञ्चार क्षेत्रमा जिम्मेवारीमा रहेकाहरूले समस्या पहिचान गरेर समन्वय इमानदारीपूर्वक काम गर्नुहोस्”, गृहमन्त्रीले भने।

उनले अहिलेको संविधान कानूनले चार तहको संरचना तय गरेको भन्दै चार वटै विपद् व्यवस्थापनका संयन्त्रहरू जोडिएर मिलेर काम गर्नुपर्छ भन्नेमा जोड दिए। 

“विपद्मा संघ, प्रदेश र स्थानीय तह तीन वटै तहको विपद् व्यवस्थापन समिति मिलेर काम गर्नुपर्छ, मानिसको आवागमन खोल्ने कुरा महत्त्वपूर्ण हुन्छ, मानिस बिरामी भएको ठाउँमा चिकित्सक पुर्‍याउन पनि गाह्रो छ”, उनले भने, “जसरी भए पनि अहिले सडक खुलाउने काम गर्नुस्, जनशक्ति र साधन थपेर भएपछि टीकाभैरवको पुल सञ्चालन ल्याउनुपर्छ।”

विपद् प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले घर पूर्ण क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि प्रतिघर ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था रहेको बताए। उनले तथ्यांक उपलब्ध भएको तीन दिनभित्र रकम उपलब्ध गराउने प्रतिबद्धता जनाए।

पूर्वअर्थराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले विपद् क्षेत्र घोषणा भएका स्थानीय तहलाई सडक मर्मतमा ध्यान दिन आग्रह गरे। उनले धरापमा भएका घरहरूलाई मर्मतका लागि तत्कालै ध्यान दिन आग्रह गरे।

ललितपुर क्षेत्र नं २ का संघीय संसद् प्रेमबहादुर महर्जनले भौतिक क्षतिको विवरण खोज्न मिहिन ढंगले लाग्नुपर्नेमा जोड दिए। उनले मानवीय संवेदना बुझेर काम गर्न राज्यले ध्यान दिनुपर्ने धारणा राखे। 

बागमती प्रदेशका स्वास्थमन्त्री रामेश्वर श्रेष्ठले शुद्ध पिउने पानी र सञ्चार क्षेत्रमा ध्यान दिन आग्रह गरे। उनले राहत वितरणलाई प्रभावकारी बनाउन पनि जोड दिए।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाभित्र प्राकृतिक विपद्मा परी ६ जनाको मृत्यु भएको जानकारी गराउँदै विपद् व्यवस्थापनमा आवश्यकताअनुसार प्रत्येक वडाले तत्कालै व्यवस्थापन गर्न सक्ने गरी बजेट व्यवस्थापन गरेको बताए। 

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पालिकाभित्र २० जनाको मानवीय क्षति, १०८ वटा सरकारी संरचनामा क्षति र ५५ वटा खानेपानी योजनामा क्षति पुगेको जानकारी दिए।   

उनले नल्लु र बासुकीको खानेपानी तत्कालै सञ्चालन गर्नुपर्ने भन्दै २७ वटा कल्भर्ट, तीन वटा पुल, २० वटा सडकखण्ड र २१६ घरमा क्षति पुगेको बताए। उनले वटा नं. ७ देवीचौरमा हालसम्म विद्युत् र टेलिफोन सेवा पुग्न नसकेको जानकारी गराए।

महालक्ष्मी नगरपालिका प्रमुख हरिगोविन्द श्रेष्ठले पालिकाभित्र सात जना मृत्यु भएको बताए। उनले वडा नं ९ मा खानेपानीको समस्या रहेको,  वडा नं. १० सम्म जाने सडक मर्मत भइरहेको र प्रभावित क्षेत्रमा लागत संकलन भइरहेको जानकारी गराए। महालक्ष्मी नगरपालिकाका वडा नं. १, ५ र ७ बढी प्रभावित भएको उनले जानकारी गराए।

कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले विपद्का कारण गाउँपालिकाभित्र खानेपानीको पाइपमा पूर्ण रूपमा क्षति भएकाले सञ्चार सम्बन्ध टुटेको जानकारी गराए। उनले पालिकाभित्र एक सय ५० घर पूर्ण रूपमा क्षति भएको, नल्लु र भारदेउका बस्ती बगरमा परिणत भएको बताए। उनले दुई वटा सामुदायिक र एउटा निजी विद्यालयमा क्षति भएको बताउँदै सबैभन्दा पहिलो बाटो सञ्चालनमा ल्याई विद्युत् र सञ्चारलाई व्यवस्थापन गरिनुपर्नेमा जोड दिए।

बैठकमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका जिल्ला अध्यक्ष शिव कट्टेल, नेपाल कम्युनिस्ट पार्टी एमालेका जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, नेपाली कांग्रेसका जिल्ला सचिव राजनप्रसाद घिमिरेलगायतले विपद्ले निम्त्याएको समस्या र समाधानबारे जानकारी गराएका थिए।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले घरमै पुगेर राहत वितरणका काम गरिरहेका जानकारी दिँदै अस्थायी आवास निर्माणका लागि स्थानीय तहलाई जिम्मा दिन सक्ने बताए। उनले ललितपुरमा हालसम्म पनि ६ जना बेपत्ता रहेको बताए।