‘मोहन सर : व्यक्ति र कृति’ सार्वजनिक

पुस्तकमा शिक्षक मोहन थापाका बारेमा ४५ जनाका स्मृति तथा थापाका अप्रकाशित डायरी संगृहीत छन्।

काठमाडौँ– सल्यानका शिक्षक मोहनसिंह थापाबारे पुस्तक प्रकाशन भएको छ। ‘मोहन सर : व्यक्ति र कृति’ स्मृतिग्रन्थ शनिबार सल्यानमा कर्णाली प्रदेशका मन्त्री सुरेश अधिकारी लगायतले विमोचन गरेका हुन्। 

विश्व शिक्षक दिवस तथा मोहनसिंह थापाको जन्मदिनको अवसर पारेर उनको दसौँ स्मृति दिवसपछि पुस्तक लोकार्पण गरिएको हो। 

पुस्तकमा ६१ वर्षको उमेरमा दिवंगत भएका थापाका बारेमा ४५ जनाका स्मृति तथा थापाका अप्रकाशित डायरी संगृहीत छन्। २०२८ सालको एलएसलीमा जिल्ला प्रथम भएका निम्न वर्गीय परिवारका मोहन राजनीतिक पहुँच नपुग्नाले छात्रवृत्तिमा थप पढ्न नपाएको बताइन्छ।

यद्यपि उनले सल्यान क्याम्पसमा स्नातक तहमा लामो समय पढाए। सल्यानको पहिलो विद्यालय त्रिभुवन जन माविमा १८ वर्ष पढाए। आजीवन शिक्षण कर्म गरेर पनि स्थायित्व नखोजेका थापा घरमा बिहान सबेरैदेखि राति अबेरसम्म निःशुल्क पढाउँथे। गाउँ–गाउँबाट सदरमुकाम पढ्न आउनेलाई उनी निःशुल्क डेराबाससमेत दिन्थे।

पुस्तकलाई मोहनका विद्यार्थी प्रवीण भण्डारी र विमल आचार्यले स्वयंसेवाका रूपमा सम्पादन संयोजन गरेका हुन्। प्रकाशन खर्च मोहनका भाइ भूपेन्द्र र बहिनी सोबिताले बेहोरेका हुन्। पुस्तक निःशुल्क वितरण गरिएको छ।