नेपालको पश्चिमी क्षेत्रबाट बाहिरिँदै मनसुन

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पश्चिमी भू–भागबाट बाहिरिँदै गएको छ।

काठमाडौँ– नेपालको पश्चिमी क्षत्रेबाट मनसुन बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन सुदूरपश्चिम, कर्णालीका धेरै तथा लुम्बिनीको पश्चिमी भू–भागको थोरै स्थानबाट बाहिरिँदै गएको हो।

महाशाखाका अनुसार नेपालमा मनसुनी वायु कमजोर हुँदै गइरहेको छ। नेपालका बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ। सरदर मनसुन बाहिरिने दिन अक्टोबर २ भए पनि यस वर्ष केही ढिला गरी मनसुन बाहिरिन थालेको हो।

“मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ” महाशाखाले जारी गरेको मनसुन बहिर्गमन बुलेटिनमा भनिएको छ, “मौसम पूर्वानुमान महाशाखाले नियमित रूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यस सम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ।”

नेपालमा सामान्यतया मनसुन भित्रिने सरदर मिति जुन १३ (प्रायः जेठ ३० गते) र बाहिरिने अक्टोबर २ (असोज १५ गते) हो। तर यस वर्ष सरदर मितिभन्दा दुई दिनअघि नै मनसुन भित्रिएको थियो। महाशाखाका अनुसार यस वर्ष नेपालमा गत जेठ २८ गते मनसुन भित्रिएको थियो। 

यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधि जेठ १९ गतेदेखि असोज १४ गतेसम्म एक हजार ७०६.२ मिलिमिटर वर्षा भएको छ। मनसुनमा यो वर्ष एक हजार ४७९.७ मिलिमिटर वर्षा हुनुलाई सरदर मानिन्छ।