मुद्दाको चाप कम गरी न्यायालयको साख बढाउने प्रधानन्यायाधीशको प्रतिबद्धता

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।

काठमाडौँ– नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीश राउतले पद तथा गोपनीयताको शपथ लिएपछि सर्वोच्च अदालतमा पदबहाली गर्दै उनले मुद्दाको चाप कम गरी न्यायालयको साख बढाउनेतर्फ लाग्ने बताए।

“नेपालको न्यायालय लयमा फर्केको छ, त्यो गौरवको विषय हो,” उनले भने, “अदालत पारदर्शी छ, म न्यायको पवित्रतालाई उचाइमा पुर्‍याउन प्रयत्न गर्नेछु, न्यायिक सुधार अनिवार्य शर्त हो, त्यसको विकल्प छैन, आन्तरिक रूपमा पनि कटिबद्ध र प्रतिबद्ध छौँ, न्यायपालिकाको साख र विश्वसनीयता अझै बढाउन लाग्नेछु।”

नेपालको न्यायालयको ३२औँ प्रधानन्यायाधीशका रूपमा राउतले करिब १८ महिना न्यायालयको नेतृत्व गर्ने छन्। प्रधानन्यायाधीश राउत २०८२ चैत १८ गते उमेर हदका कारण सेवाबाट अवकाश पाउने छन्। उनी २०७३ साउन १७ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका थिए।

विसं २०१७ चैत १८ गते उदयपुरमा जन्मिएका प्रधानन्यायाधीश राउतले नेपाल ल क्याम्पसबाट स्नातक गरेका थिए। उनले २०३९ सालदेखि २०७२ सालसम्म ३३ वर्ष कानून व्यवसायीका रूपमा काम गरेका थिए। कानून व्यवसायीका रूपमा काम गर्दा उनी नेपाल बार एसोसिएसनको अध्यक्षसमेत थिए।