संयुक्त राष्ट्रसंघका अनुसार गाजाको युद्धपूर्व संरचनाको दुई तिहाइ वा एक लाख ६३ हजारभन्दा बढी भवनहरू खण्डहरमा परिणत भएका छन्।
काठमाडाैँ– इजरायल र हमास युद्धको एक वर्ष पूरा भएको छ। अघिल्लो वर्षको अक्टोबर ७ मा गाजामा सक्रिय प्यालेस्टिनी सशस्त्र समूह हमासले इजरायलमा आक्रमण गरेसँगै शुरू भएको युद्धमा ठूलो धनजनको क्षति हुनुका साथै यसले क्षेत्रीय रूप धारण गरेको छ।
अक्टोबर ७ को आक्रमणमा ११ सयभन्दा धेरै इजरायलीको मृत्यु भएको थियो, जसमा इजरायलमा कार्यरत १० जना नेपाली विद्यार्थीहरूले पनि ज्यान गुमाए। एक जना कञ्चनपुरका विपिन जोशी अझै सम्पर्कविहीन छन्। उनी हमासको नियन्त्रणमा रहेको बताइएको छ। हमासले त्यतिबेला इजरायली भूमिबाट २५१ जनालाई बन्धक बनाएर लिएको थियो।
हमासको त्यस हमलादेखि इजरायलले गाजामा निरन्तर र आक्रामक सैन्य अभियान चलाएको छ। एक वर्ष लामो द्वन्द्वमा हालसम्म ४२ हजार प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्। जसमा हमास लडाकु, ठूलो संख्यामा निर्दोष नागरिक, महिला र बालबालिका रहेका छन्। इजरायली वायुसेनाले गाजामा लगभग दिनहुँ बमबारी गरिरहेको छ, हजारौं घरहरू ध्वस्त र लाखौं घरबारविहीन बनेका छन्।
संयुक्त राष्ट्रसंघ (यूएन)का अनुसार गाजाको युद्धपूर्व संरचनाको दुई तिहाइ वा एक लाख ६३ हजारभन्दा बढी भवनहरू खण्डहरमा परिणत भएका छन्। जसका कारण ४ करोड २० लाख टनभन्दा बढी फोहोर जम्मा भएको छ। यो तथ्यांक यूएन स्याटालाइट डाटाबाट लिइएको हो। राष्ट्रसंघले अप्रिलमा गरेको अध्ययनअनुसार भग्नावशेष हटाउन १४ वर्ष र २८ करोड डलर खर्च लाग्ने अनुमान गरेको थियो।
अझै पनि युद्ध अन्त्यको कुनै संकेत देखिएको छैन। संयुक्त राष्ट्रका महासचिवले हिंसा अन्त्य गर्न अपील गर्दै हमासलाई इजरायली बन्धकहरूलाई रिहा गर्न आग्रह गरेका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई धेरै हदसम्म कमजोर बनाएको र लगभग ध्वस्त भएको दाबी गरेका छन्। तर, इजरायलले अझै पनि आफ्ना सबै उद्देश्य पूरा गर्न सकेको छैन। रिपोर्टहरूका अनुसार गाजामा अझै पनि करिब १०० बन्धकहरू छन्, जसमध्ये ७० जना मात्र जीवित रहेको विश्वास गरिन्छ। इजरायलमा बन्धकहरूलाई फिर्ता गर्ने सम्बन्धमा धेरै दबाब छ, तर हालसम्म यस दिशामा कुनै निर्णायक सफलता प्राप्त भएको छैन।
दुई पक्षहरू बीच शान्ति वार्ताको कुनै ठोस संकेत छैन, र इजरायल अब लेबनान र इरानसहित धेरै मोर्चाहरूमा लडाइँमा संलग्न छ। सिया कट्टरपन्थी हमासलाई लेबनानको इरानसमर्थित हिज्बुल्लाहको साथ सहयोग छ। त्यसैले शुरूआतदेखि नै हमासको पक्षमा उभिएर इजरायलमा आक्रमण गर्दै आएको हिजबुल्लाह अहिले पूर्णरूपमा इजरायलसँगको युद्धमा होमिएको छ। इजरायली आक्रमणमा हिजबुल्लाहका वरिष्ठ नेता हसन नसरुल्लाहसहित थुप्रैले ज्यान गुमाइसकेका छन्।
हमाससँगको द्वन्द्व बाहेक, इजरायल अब आफ्नो उत्तरी सीमामा लेबनानसँग पनि युद्धमा छ। इजरायली सेनाको आक्रमणबाट लेबनानमा पनि १३ सय भन्दा धेरैले ज्यान गुमाइसकेका छन्। हिजबुल्लाको आक्रमणले इजरायलमा पनि धनजनको क्षति भइरहेको छ। हिजबुल्लाहसँग बढ्दो द्वन्द्वले यस युद्धलाई झन् फराकिलो बनाएको छ। इरानले पनि इजरायललक्षित आक्रमण गरिरहेको छ। यसरी दुई पक्षबीचको युद्धले अहिले क्षेत्रीय रूप धारण गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
