यो दशैँमा खुशी छैनन् सुनसरीका किसान

धानखेतीका लागि किसानले प्रतिबिघा ३० देखि ४० हजार रुपैयाँ खर्च गर्दै आएका छन्।  त्यही खेत बाढीले डुबाउँदा उनीहरूले निकै घाटा बेहोर्नुपरेको छ।

सुनसरी– देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए। तीमध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धान लगाएका थिए। त्यही धान बेचेर हुने आम्दानीले दशैँ मनाउने सोच थियो। तर त्यसो भएन।

उनले भने, “दशैँअगाडि नै धान भित्र्याने सोच बनाएको थिएँ। आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिएँ। यसबाट आएको आम्दानीबाट दशैँ मनाउने सोच थियो।”

यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्‍याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन।  उनले भने, “बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ।”

यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए। उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा ४० हजार रुपैयाँ खर्च पनि गरे। उनले भने, “बाढीले  भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो। यसपटक दसैँ दशा भएर आयो।” 

बाढीका कारण जिल्लाको धानबालीमा धेरै क्षति भएको छ। धानखेतीका लागि किसानले प्रतिबिघा ३० हजारदेखि ४० हजार रुपैयाँ खर्च गर्दै आएका जनाइएको छ।  

धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ। जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्यांक संकलन जारी रहेको छ। कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले  बाढीले १९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।

उनले बाढीबाट दुई करोड ५० लाख रुपैयाँ बराबारको धान नोक्सानी भएको बताए। उनले भने, “बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्यांक आउने क्रम जारी छ।”