दशैँमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ।

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही साता देशभरबाट बाहिरिने सम्भावना छ।

महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने बताइन्। उनका अनुसार विगतमा पनि मनसुन बाहिरिएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको थियो। 

“यस पटक मनसुन बाहिरिने समय र दशैँ एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले भनिन्, “तसर्थ यो दशैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।”