‘माइक्रोआरएनए’ पत्ता लगाउने एम्ब्रोस र ग्यारीलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

‘माइक्रोआरएनए’ आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा यसको योगदानका लागि अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कनलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ।

यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘माइक्रोआरएनए’ पत्ता लगाउने अमेरिकी दुई वैज्ञानिकलाई प्रदान गर्ने घोषणा गरिएको छ।

माइक्रोआरएनए आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा यसको योगदानका लागि अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कनलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कारबाट प्रदान गरिने भएको हो। नोबेल पुरस्कार समितिले सोमबार स्विडेनको राजधानी स्टकहोममा आयोजित कार्यक्रममा यो प्रतिष्ठित पुरस्कारको घोषणा गरेको हो।

समितिले माइक्रोआरएनए पत्ता लगाउने यी दुई अमेरिकी जीववैज्ञानिकको अनुसन्धानलाई ‘अभूतपूर्व खोज’का रूपमा प्रशंसा गरेको छ। समितिले यो खोजले ‘आनुवंशिक प्रणालीको नियमन’मा पूर्ण रूपमा नयाँ आयाम थपिदिएको जनाएको छ।

उनीहरूले एक मिलिमिटर लामो एक प्रकारको जुकामा कोष उत्परिवर्तन किन भयो र कहिले भयो भनेर निर्धारण गर्न अनुसन्धान गरेका थिए। सन् १९९३ मा प्रत्येक कोशलाई सान्दर्भिक निर्देशन मात्र चयन गर्न अनुमति दिने आनुवंशिक प्रणालीको नियमनसम्बन्धी उनीहरूको आधारभूत निष्कर्षका दुई लेख प्रकाशित भएका थिए।

आनुवंशिक गतिविधिको नियमनलाई बुझ्नु दशकौँदेखि एक महत्त्वपूर्ण उद्देश्य रहेको नोबेल पुरस्कार निर्णायक मण्डल (जूरी)ले बताएको छ। यदि आनुवंशिक प्रणालीको नियमनमा गल्ती भए क्यान्सर, मधुमेह वा स्वप्रतिरक्षाजस्ता गम्भीर रोग निम्तिने जोखिम रहन्छ।

“उनीहरूको अभूतपूर्व खोजले आनुवंशिक प्रणालीको नियमनको पूर्ण रूपमा नयाँ आयाम थपिदियो जुन मानवसहित बहुकोशीय जीवका लागि आवश्यक साबित भयो,” निर्णायक मण्डलले भनेको छ।

७० वर्षीय एम्ब्रोस युनिभर्सिटी अफ म्यासाचुसेट्स मेडिकल स्कुलका प्राध्यापक हुन् भने ७२ वर्षीय रुभ्कुन हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक हुन्। यो जोडीले माइक्रोआरएनए पत्ता लगाउन र जिनको नियमनमा यसको भूमिकाको खोजीमा सहकार्य गरेको थियो।   

पुरस्कारको राशी १.१ करोड स्विडिस क्रोन रहेको छ। सन् १८९६ मा वैज्ञानिक अल्फ्रेड नोबेलको निधन भएको दिन डिसेम्बर १० मा स्टकहोममा आयोजित एक औपचारिक समारोहबीच उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिनेछ।