बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ जना बेपत्ता

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या २४६ पुगेको छ भने १८ जना बेपत्ता छन्।

काठमाडौँ– यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या २४६ पुगेको छ।

नेपाल प्रहरीले सोमबार सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म १८ जना बेपत्ता छन्। त्यस्तै, १७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

उनका अनुसार कुल १७ हजार १७४ को उद्धार गरिएको छ। सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ। बागमतीमा मात्रै १३९ जनाको मृत्यु भएको छ।

१७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ। प्रभावित परिवारलाई नगद सहायता तथा राहत सामग्री वितरण जारी रहेको उनले जानकारी दिए।

मन्त्रालयअन्तर्गत केन्द्रीय विपद् गोदाममा रहेको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको मागको आधारमा उपलब्ध गराइएको छ। आपत्कालीन राहत, पुनर्निर्माण र पुनर्स्थापनालाई प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्रीसहितको टोलीले विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरी राहत र पुनर्निर्माणलाई गति दिन निर्देशन दिएको प्रवक्ता तिवारीले बताए।

विभिन्न राजमार्गका अवरोध हटाइ या वैकल्पिक व्यवस्था गरी सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।

लाभग्राहीको विवरण प्राप्त हुनासाथ प्रभावितलाई खाद्यान्नलगायत तत्काल गुजारा गर्न नगद र अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापत रकम जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय तहमार्फत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।