अधिकांश युवापुस्ता जिल्ला बाहिर बस्छन्, गाउँघरमा बुढापाका। बाढीपहिरोले बाटोघाटो बिग्रिए शहर बजारमा रहेका छोराछोरी आउन नपाएपछि बुढापाकाका लागि यस वर्षको दशैँ खल्लो हुने भएको छ।
खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार पहिरोको कारण एक सातादेखि विस्थापित छ। उनको परिवारले हाल नजिकैको चर्चमा आश्रय लिइरहेको छ। यही असोज–१२ गतेको पहिरोले घर बगाएपछि विस्थापित उनको परिवारलाई स्थानीय बासिन्दा तथा प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो।
अविरल वर्षासँगै खसेको पहिरोबाट विस्थापित उनको परिवारलाई तत्काल खाने बस्ने व्यवस्था नगरपालिका र वडा कार्यालयले गरिरहेको छ। घरमाथिबाट खसेको पहिरोले ढुंगामाटोको तीनतले घरसँगै सम्पूर्ण सरसामान बगाएपछि चार छोराछोरीसहित ६ जनाको परिवार पूर्ण रूपमा विस्थापित भएको हो।
असोज १२ गतेको पहिरोले उनको जस्तै जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने ३३ परिवार घरबारविहीन भएका छन्। बाढीपहिरोबाट विस्थापित उनीहरूलाई सम्बन्धित स्थानीय तहले तत्कालका लागि राहत त उपलब्ध गराएको छ तर सधैँ उपलब्ध गराउन सक्ने अवस्था छैन।
बाढीपहिरो पीडित परिवारका लागि यस वर्षको चाडपर्व खल्लो भएको छ। उनीहरूका लागि सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको खाद्यान्न तथा बन्दोबस्तीका सामग्री उपभोग गरिसकेपछि के खाने, के लाउने भन्ने टुंगो छैन।
बाढीपहिरोले जिल्लामा ठूलो क्षति पुर्याएको जिल्ला विपद् व्यवस्थापन समिति खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए। “चाडपर्वलाई लक्षित गरी अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन पहल गरिरहेका छौँ। तर दशैँअघि सञ्चालनमा आउने सम्भावना कम देखिन्छ। यद्यपि, सम्बन्धित निकायलाई खबरदारी गरिरहेका छौँ,” उनले भने।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका राजकुमार राईका चार छोरा र दुई छोरी छन्। जेठा छोरा गाईघाट, जेठी छोरी धरान तथा माहिला, कान्छा छोरा र कान्छी छोरी काठमाडौँ बस्छन्। साइँला वैदेशिक रोजगारीमा छन्। उनीहरूमध्ये कान्छोले मात्रै दशैँमा बुबाआमाको हातबाट टीका थाप्न पाउने भएका छन्। कान्छो छोरो प्रदीप असोज १२ गतेअघि नै घर आएका थिए।
सडक तथा पुल बगाएपछि छोराछोरीहरू यस वर्ष चाड मान्न घर आउन नपाएको दीपेन्द्रले बताउँछन्। बाढीपहिरोबाट जिल्लामा सञ्चालित विकासे योजनाबाहेक मानिसका घरमा भएको क्षति मात्र एक करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
चाडबाडको समयमा आएको यो वर्षको बाढीपहिरोले जिल्लामा व्यापार/व्यवसायमा असर परेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए।
“चाडपर्वको अवसरमा करोडौँको व्यापार हुनुपर्ने हो। धेरै मानिस बाटोको कारण आउनै सकेनन्। अधिकांश युवापुस्ता बाहिरी जिल्लामा बसोबास गर्छन्। घरमा बुढापाका मात्र छन्,” उनले भने, “शहर गएका छोराछोरी आउन नपाएपछि बुढापाकामा चाडपर्वको उमङ्ग छैन। छोराछोरी घर आउन नपाएपछि बुढापाकाले केका लागि सामान खरिद गरोस् र हाम्रो व्यापार होस्।”
बाढीले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पक्की पुल तथा खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुल बगाएको छ।
वर्षाका कारण अवरुद्ध जिल्लाका सबै ग्रामीण सडक अझै सञ्चालनमा ल्याउन सकिएको छैन। मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवा भञ्ज्याङ सडकखण्ड भने पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
