जुन गीत नारायण गोपालले गाउन लगेका थिए... (भिडियोसहित)

स्वर–सम्राट नारायण गोपाललाई गीत गवाउन प्रायः सबै गीतकार उत्सुक रहन्थे, लालायित भनौँ न। उनले गीत गाइदिएकोमा गीतकारले खसी नै ढालेर भोजको आयोजना गरेको खबर पनि आएको थियो।

उर्लेको छ जीवन
म किनारमा छु
मोती खोज्न डुब्छु
अँध्यारोले निल्छ।

चम्केको छ सपना
म दोधारमा छु
उड्न उड्न खोज्छु
पर्खालले छेक्छ।

दिनहरू सोच्दै
रात सम्झिँदै
म आफूलाई खर्च गर्दैछु
खाडल भएको मायालाई हेर्दै
बाटोमा एकछिन पर्खुं भन्दैछु।

लर्केको छ बादल
म असारमा छु
हाँस्न–हाँस्न खोज्छु
भित्र आगो बल्छ।

बस्तीहरूको माझ–माझमा
एकान्तजस्तो कस्तो कोलाहल
आशाहरूको पासो बेरेर
म खोज्छु काँ’छ एउटा सुन्दरीजल

रित्तिएको छ मन
म हिसाबमा छु
आधा आफ्नो मर्नु
आधा सास चल्छ।

उर्लेको छ जीवन...

प्रिय पाठक,
यो त्यो समयको हो जब म पर्याप्त गीत लेख्थेँ। गीत लेख्नु, त्यसमा लय भर्नु र मिलेसम्म स्टेजमै वा नमिलेमा साथीभाइबीच गाएर आफ्नो गाउने धोको पूरा गर्नु— यही हुन्थ्यो। म प्रत्येक चाडमा कविता वा गीत अवश्य लेख्थेँ। दशैँ–तिहार, छठ, माघे संक्रान्ति अथवा नववर्ष, असार १ आदि सबैमा गीत लेख्थेँ।

असार १ किनभने, मलाई कालिदासको ‘मेघ–दूतम्’ र त्यसमा ‘आषढस्य प्रथम दिवसे...’ ले प्रभावित तुल्याएको थियो। दशैँको नवरात्रभर म कतिपय गीत–कविता रच्नमा व्यस्त हुन्थेँ। यो पनि भनिदिऊँ– यी दशकौँ अघिका कुरा हुन्, अब त सबै परिवर्तित छन्।

माथि तपाईंहरूले पढ्नुभएको गीत नवरात्रको कुनै दिनमा लेखेको हुँ, लयसहित। म वीरगन्ज जान्थेँ दशैँको बिदामा। यो गीत वीरगन्जमै रचिएको हो। हुनसक्छ, त्यसबखत तपाईंहरूमध्ये कति जन्मिनु पनि भएको थिएन। त्यस हिसाबले यो गीत एक पुस्ताको मात्र भएन, हरेक पुस्ताको पाठकले पढ्नसक्छ। सृजनाको यही महत्त्व हुन्छ। त्यो जुन पुस्ताका लागि पनि प्रिय/अप्रिय बन्न सक्छ।

यो गीत त्यस बखतको हो जब म त्रिभुवन विश्वविद्यालयमा पढाउथेँ। एक पटक त्रिवि नेपाली विभागले आयोजना गरेको पिकनिकमा हामी सारा प्राध्यापक सहभागी भएका थियौँ। कुनै रम्य ‘स्पट’ थियो। त्यही सांस्कृतिक कार्यक्रमको क्रममा मैले यो गीत प्रथमपटक गाएको थिएँ। ‘रिलिज–डेट’ सम्झनामा नभए पनि ‘रिलिज–ओकेजन’ भने त्यही थियो।
⁎⁎
स्वर–सम्राट नारायण गोपाललाई गीत गवाउन प्रायः सबै गीतकार उत्सुक रहन्थे, लालायित भनौँ न। उनले गीत गाइदिएकोमा गीतकारले खसी नै ढालेर भोजको आयोजना गरेको खबर पनि आएको थियो। तर नारायणगोपाल सितिमिती कसैको गीत गाइहाल्ने थिएनन्, त्यो जति ठूलो र प्रभावशाली व्यक्ति होस्।

नारायण गोपालसँग मेरो राम्रो मित्रता थियो। एकताका उनी यतै महाराजगन्जतिर बस्थे। लगभग हप्तैहप्ता भेट हुन्थ्यो। ‘बैठकी’ पनि चल्थ्यो, राम्रै रीतमा— कहिलेकाहीँ त बिहानैदेखि। उनी मलाई लेखक–साहित्यकार त मान्थे तर गीतकार होइन। मैले उनलाई अघि पनि आफ्ना एक/दुई गीत दिएको थिएँ तर गाएनन्। नारायण गोपालका मभन्दा पुराना मित्र विनोद दीक्षित हुन्, स्कुलदेखिकै। विनोदले पनि आफ्ना केही गीत दिएका थिए, गाइदिन भनेर— ‘बट इन–भेन !’ (व्यर्थै भयो।)

माथिको गीतको भने अलिक बेग्लै कथा छ।

एकदिन म घुम्दै नारायण गोपालको निवासमा पुगेको थिएँ। बिहानै ‘बैठकी’ शुरू भैसकेको रहेछ। बैठकीबीचैमा मैले नारायण गोपाललाई यो गीत दिएँ। दिएँ मात्रै होइन, आफूले हालेको लयमा गाएरै सुनाएँ पनि। नारायण गोपालले निकै मन पराए। भने, “यो गीत चिज छ! तर यसमा म आफ्नै धुन हालेर गाउँछु। अर्को हप्ता, शनिबारसम्म आउनुस् न। म सक्छु होला त्यस बखतसम्म।”

बडो खुशी लाग्यो। नारायण गोपालले मेरो गीत गाइदिएपछि त मेरा लागि इतिहासै रचिन्छ भन्ने सोचेँ। जहाँसम्म गीति लयको कुरा छ, मलाई मैले बनाएकोमध्ये यो धुन एकदमै मन परेको हो। मलाई मन परेर के गर्नु! अब नारायण गोपालले मलाई बल्लतल्ल गीतकार त मानेका थिए, संगीतकार मान्ने कुरै भएन। मेरो धुनबारे भन्न त उनले केही भनेनन्। तर आफ्नै धुनमा गाउँछु भन्नाको अर्थ त स्पष्ट थियो नै।

अर्को हप्ता शनिबार बिहान उनले मलाई बोलाए र भने, “आफ्नो गीत सुन्न आउनुस्...”

म उत्साहले निथ्रुक्क भएर गएँ। बैठकी त छँदै थियो, शुरू नै भैसकेको थियो। त्यसबीच उनले हर्मोनियम सम्हाले र आफ्नो धुनमा मेरो गीत उच्चारण गर्न थाले।
“उर्लेको छ जीवन
म किनारमा छु...”  

राम्रो थियो उनको धुन। गीतमा ‘स्थायी’ भने दोहो¥याउँदै सुनाए, एउटा ‘अन्तरा’ एकपटक मात्रै। उनले सोधे— “कस्तो छ?”
मैले भनेँ—“डाउटलेस्ली एक्सिलेन्ट...!”
⁎⁎
म एउटा प्रसन्नताको आवेग लिएर फर्कें, अब नारायण गोपालकै स्वरमा मेरो गीत गुन्जनेछ। म पर्खिन थालेँ।

कैयौँ हप्ता बिते, यस्तै नौरथाकै कुनै दिन थियो। नारायण गोपालले आफूकहाँ धेरै कवि–गीतकारलाई बोलाएका थिए। त्यसमा क्षेत्रप्रताप अधिकारी पनि थिए। 

बैठकीमा ‘दौर’माथि ‘दौर’! समय बिहानको ११–१२ बजे। लन्च पनि थियो, १–२ बजे लन्च भनिएको थियो। तर कति बज्छ भन्नै नसकिने हुन्थ्यो। 

नारायण गोपाल हार्मोनियममा विभिन्न गीतहरू गाउन थाले। म उनको गीतको आनन्द पनि लिइरहेको थिएँ, व्यग्र प्रतीक्षा पनि गरिरहेको थिएँ— आज मेरो गीतको उद्घाटन हुन्छ भनेर। 

तर उनले गाउन बन्द गरे। अरू गफहरू हुन थाले। त्यसबीचमा मैले एउटा ‘मिक–भ्वाइस’ नारायण गोपालको कानमा पारेँ, “मेरो गीत खोइ त?”

उनले सबैले सुन्नेगरी लगभग ‘अनाउन्स’कै स्वरमा भने, “पछि त्यो गीतको धुन म आफैलाई मन परेन, त्यसैले रिजेक्ट गरेँ। अब अर्को बनाउँछु।”

त्यसपछि त्यो प्रसंगको पटाक्षेपजस्तै भयो। आयो, गयो, भयो।

यो यसकारण भन्दैछु, नारायण गोपालबाट न यो गीतको अर्को धुन आयो, न उनले मेरो गीत कहिल्यै गाए। न मैले फेरि उनलाई आफ्नो कुनै गीत फेरि गाइदिन आग्रह गरेँ, त्यो प्रसंग समाप्तै भयो— सहादत! (बरु पछि मेरै धुनमा इशान गौतमले त्यो गीत गाए, बुलु मुकारुङको सहयोगमा, जुन रेकर्डमा पनि छ।)

नारायण गोपालसँगको मित्रता भने अन्त्यसम्मै यथावत् रह्यो। उनले मलाई साहित्यकार त मानिरहे तर गीतकार कहिल्यै मानेनन्। धुनकार मान्ने त झन कुरै भएन। बरु, नारायण गोपाल राष्ट्रिय नाचघरमा सम्बद्ध रहेका बेला मलाई दुई पटक नाटिका लेख्न लगाएका थिए। पहिलो, ‘दुर्गा अवतार’ भन्ने ब्याले थियो, नृत्य–नाटिका। अर्को, ‘श्रीकृष्ण लीला’ भने अपेरा थियो, गीति–नाटिका। यी दुवै निकै चर्चाका साथ मन्चनमा पनि आएका थिए। 

त्यो लेखाइका लागि नारायण गोपालले २५ सय रूपैयाँ जति पारिश्रमिक पनि दिएका थिए। पछि ती दुवै सिर्जना पुस्तिकाका रूपमा छापिएका थिए, नाचघरबाटै। त्यो पारिश्रमिक भने सधैँझैँ बैठकीमै सकिएको थियो, नारायण गोपालसहितको बैठकी। 

बरु, एउटा सुखद संयोग भने यो माथिको गीतसँग जोडिएको छ— रुचिकर लाग्न सक्छ पाठक र स्रोतालाई। यो गीत नौरथामै रचिएको थियो र नारायण गोपालले यसको धुन ‘रिजेक्ट’ गरेको समय पनि नौरथाकै कुनै दिन थियो। अब यो गीतको कथा पनि यही समयमा बाहिर आउँदैछ अर्थात्, बडादशैँ—२०८१ मा। धेरै कालपछि यो कथा सम्झँदा मलाई रमाइलै लागिरहेको छ। 
“दिनहरू सोच्दै
रात सम्झिँदै
म आफूलाई खर्च गर्दैछु...”