ललितपुरको खोकनामा मनाइँदै सिकाली जात्रा

मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ।

काठमाडौँ– दशैँको सट्टा ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ।

सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन्। दशैँ खोकनाबाट शुरू हुने विश्वास रहे पनि  परम्परागत रूपमा यहाँ दशैँ भने मनाइँदैन । 

स्कन्दपुराणको माघ माहात्म्यमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्र लगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरबितर पारेको कथाको आधारमा जात्रा गरिन्छ।

मंगलबार बिहान सिकाली चौरमा मण्डप बनाएर यज्ञ लगाइएको थियो। सोही यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएका हुन्।

मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ। यहाँका बासिन्दा एकापसमा टीकाटालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन्।

खोकनावासी दशैँ मनाउँदैनन्। पुरानो संस्कृति भएकाले यो जात्रा मनाएपछि दशैँ मनाउन नभ्याएको उनीहरू बताउँछन्।