पदयात्राका क्रममा पोल्यान्डका नागरिकको मृत्यु

हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोटको सिमानास्थित सूर्यकुण्ड आसपासमा पोल्यान्डका नागरिक २३ वर्षीय सोविन्का अग्निएस्ज्काको मृत्यु भएको छ।

रसुवा– हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोटको सिमानास्थित सूर्यकुण्ड आसपासमा एक जना विदेशी नागरिकको मृत्यु भएको छ। पोल्यान्डका नागरिक २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गए राति मृत्यु भएको हो।

रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईले पोल्यान्डका राहदानी नं ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको सूर्यकुण्ड आसपास क्षेत्रमा मृत्यु भएको बताए।

नेपाली सेनाको श्रीनाथ गण र जिल्लास्थित नेपाल प्रहरीको सहयोगमा शव गोसाईंकुण्ड ल्याएको थियो। मंगलबार बिहान हेलिकप्टरमार्फत शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँ पठाइएको छ।

रियल हिमालय ट्रेकिङ कार्यालयको अनुरोध तथा जिल्लास्थित सुरक्षा निकायको सहयोगमा शव काठमाडौँ ल्याएको एयर डाइनेस्टीका उडान प्रबन्धक विवेक अधिकारीले जानकारी दिए।

थप अनुसन्धानका लागि स्थलगत रूपमा जनशक्ति परिचालन गरिएको प्रहरी प्रमुख भट्टराईले जानकारी दिए। लेक लागेर वा अन्य के कारणले निधन भएको हो भन्ने विषयमा शव परीक्षण प्रतिवेदनपछि मात्र थाहा हुने उनको भनाइ छ।