मेलम्चीको पानी आइपुग्यो काठमाडौँमा

मेलम्चीको पानी केयूकेएलका विभिन्न वितरण शाखामा पठाइएको र ती शाखाबाट वितरण प्रक्रिया शुरू गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई. रत्नप्रसाद लामिछानेले बताए।

काठमाडौँ– काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण शुरू गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौँको सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण शुभारम्भ गरे।

सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलेर अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का विभिन्न वितरण शाखामा पठाइएको र ती शाखाबाट वितरण प्रक्रिया शुरू गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई. रत्नप्रसाद लामिछानेले बताए।

“मन्त्रीज्यू र मेलम्ची संघर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौँ। अहिले यहाँबाट केयूकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ,” उनले भने।

मेलम्चीको पानी अहिले केयूकेएलमा आइसकेकाले अब काठमाडौँ उपत्यकावासीका धारा–धारा पानी वितरण शुरू गरिने केयूकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए। “मेलम्चीको शुद्ध पानी आइपुगेको छ, अब केही समयमै नागरिकका धारा–धारामा पठाउँछौँ,” उनले भने।

खाने पानीमन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमति भएपछि मंगलबार मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो। दशैँअगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार राति मेलम्ची पुगेर त्यहाँका संघर्ष समितिसँग वार्ता गरेको थियो।

वार्तापछि बाढी पीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौँ उपत्यकामा पानी पथान्तरण गर्नका लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ।

बर्खा शुरू भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो। उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहँदै आएको छ। मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि केयूकेएलले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको थियो।

विसं २०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौँ उपत्यकामा त्यहाँको पानी वितरण हुन सकेको छैन । काठमाडौँमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी रहेको छ। 

दोस्रो र तेस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट थप १७/१७ करोड लिटर पानी ल्याइनेछ। तीन चरण गरेर दैनिक ५१ करोड लिटर पानी काठमाडौँ ल्याउने भनिए पनि निर्माणको काम शुरू भएको छैन।

मेलम्ची खानेपानीका लागि काठमाडौँ उपत्यकामा एक हजार ७०० किमी नयाँ पाइपलाइन विस्तार गरिसकिएको छ। स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानी पोखरी, मन्डिखाटार र चाबहिल क्षेत्रमा ७६० किमीमध्ये करिब ७०० किमी पाइप बिछ्याइएको मेलम्ची उपआयोजना–२ ले जनाएको छ। 

आगामी पुस दोस्रो सातासम्म सबै पाइपलाइन विस्तार गरेर उपत्यकामा नयाँ नेटवर्कबाट पानी वितरण गर्ने योजना रहेको मेलम्ची उपआयोजना–२ ले जनाएको छ।