चौकी डाँडामा अस्थायी सडक निर्माण गरी बीपी राजमार्ग एकतर्फी सञ्चालन

रोशी खोलाको बहावलाई सोझ्याएर किनारमा अस्थायी रूपमा यातायात सञ्चालन हुने गरी संरचना निर्माण गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको हो। 

काभ्रेपलान्चोक– बीपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका-६ र रोशी गाउँपालिका-७ सीमास्थल चौकीडाँडामा रोशी खोलाको बाढीले दुई सय मिटर सडक बगाएपछि अवरुद्ध सडक एकतर्फी सञ्चालन हुने गरी निर्माण गरिएको छ।

रोशी खोलाको बहावलाई सोझ्याएर किनारमा अस्थायी रूपमा यातायात सञ्चालन हुने गरी संरचना निर्माण गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको हो। 

पाँच दिनको अवधिमा उक्त स्थानमा एकतर्फी सवारीसाधन सञ्चालन हुने गरी स्थायी सडक निर्माण गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए। उनका अनुसार आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरी पाँच दिनमा सोमबारदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको उनले बताए। 

“रोशी खोलादेखि करिब २० देखि ५० मिटरसम्म उचाइमा अवस्थित उक्त स्थानको सडक तलसम्म नै कटान भएको थियो। हिजोदेखि चौकीडाँडामा एकतर्फी सडक सञ्चालनमा ल्याएका छौँ”, कार्यालय प्रमुख योगेशले भने। खोलाको बहाव नघट्दा ‘क्रस–डाइभर्ट’ गर्न सजिलो र छिटो तरिका अपनाउन नसकिएको उनले बताए। 

अविरल वर्षाका क्रममा यही असोज १२ गते शनिबार उक्त स्थानमा सडक सम्पर्क टुटेपछि रोशी गाउँपालिकाका विपद्पीडित तथा राजमार्ग हुँदै मध्यपहाडी क्षेत्र एवं पूर्वी तराईबाट आएका यात्रु अलपत्र परेका थिए। त्यसको भोलिपल्टदेखि हेलिकप्टरमार्फत उद्धार थालिएको थियो। 

विभिन्न स्थानमा बाढीले सडक अवरुद्ध बनाएपछि उक्त राजमार्गमा रोकिएका सवारीसाधन सञ्चालन गर्न काभ्रेपलान्चोकको भकुण्डेबेसी र सिन्धुलीको नेपालथोकबाट तेमालको सडक मर्मत गरी दुई दिनअघि सञ्चालनमा ल्याइएको थियो।

“कार्यालयले उक्त राजमार्ग सञ्चालनार्थ काभ्रेतर्फबाट चार मेसिन प्रयोग गरेको थियो भने सिन्धुलीको नेपालथोकबाट काभ्रेपलान्चोकतर्फ पाँच डोजरलगायत मेसिन प्रयोग गरेको थियो। जनकपुरबाट आएका पाँच मेसिनबाट मंगलटार र नार्केसम्म बाटो मर्मत गरेर केही सवारीसाधनलाई नेपालथोक हुँदै सिन्धुलीतर्फ नै फर्काएको थियो”, कार्यालय प्रमुख योगेशले भने। 

योगेशका अनुसार भकुण्डेदेखि नेपालथोकसम्मको सडक केकति क्षति भयो भन्ने यकिन तथ्यांक नआए पनि २९ मिलोमिटरको यस दूरीमा करिब दुई किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त रहेको अनुमान छ। यस्तै, राजमार्गको कुल १६० किमीमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र नेपालथोकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकका विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ। 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले राजमार्ग सडक निर्माण गर्दा प्रतिकिमी ३५ करोड रुपैयाँलागत थियो। उक्त रकम हालको हिसाबमा ५० करोड रुपैयाँभन्दा माथि पर्नेछ। क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानमा भएको क्षतिको मूल्यांकन गर्दा दुई अर्ब रुपैयाँभन्दा माथिको क्षति भएको  प्रारम्भिक अनुमान गरिएको जनाइएको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार बिपी राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डको १४ स्थानमा करिब एक हजार नौ सय मिटर सडक अवरुद्ध भएको थियो। अवरुद्ध राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड भने असोज १४ गतेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ। 

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ बाट बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण कार्य शुरू गरिएको थियो। विभिन्न खण्डमा विभाजन गरी निर्माण भएको सडक विसं २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।

तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको १.१ बिलियन (जापानी येन) लागतमा उक्त राजमार्ग निर्माण भएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।