बीपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने

प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत दिएको जानकारीअनुसार पहिरोको अवरोध हटाएर शुक्रबार बिहान १० बजेसम्ममा बीपी राजमार्ग सञ्चालनमा आउने छ।

काठमाडौँ– बीपी राजमार्ग शुक्रबारबाट सञ्चालनमा आउने भएको छ। 

असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका कारण बीपी राजमार्गका विभिन्न खण्ड क्षतिग्रस्त हुँदा यातायात सञ्चालन अवरुद्ध छ।

प्रधानमन्त्री केशी शर्मा ओलीले बीपी राजमार्गमा गएको पहिरोको अवरोध खुलाएर शुक्रबारबाट यातायात खुलाइने बताए। प्रधानमन्त्री ओलीले फेसबुकमार्फत दिएको जानकारीअनुसार शुक्रबार बिहान १० बजेसम्ममा बीपी राजमार्ग सञ्चालनमा आउने छ।

प्रधानमन्त्री ओलीले आफ्नो टोलीसँगै फिल्डमा रहेका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँगको फोन सम्वादमा बिहीबार दिनभर र रातभर काम गर्दा बाँकी तीन ठाउँको अवरोध हट्ने बताएको उल्लेख गरेका छन्।

“बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनुभएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो। उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका–९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ। भोलि राजमार्ग खुलेपछि मात्र दशैँ मान्ने बताउनुभयो,” उनले लेखेका छन्।