विश्वकप छनोट: शीर्ष स्थानको अर्जेन्टिना बराबरीमा रोकियो, चिलीलाई हराउँदै ब्राजिल चौँथो स्थानमा

बराबरीका बाबजुद अर्जेन्टिना दक्षिण अमेरिकी समूहको शीर्ष स्थानमा कायम छ। दोस्रो स्थानको कोलम्बिया भने बोलिभियासँग पराजित भएको छ।

विश्वकप फुटबल २०२६ को छनोटअन्तर्गत दक्षिण अमेरिका समूहमा शीर्ष स्थानको अर्जेन्टिना भेनेजुएलासँग बराबरीमा रोकिएको छ। ब्राजिलले भने चिलीलाई हराउँदै चौँथो स्थानमा उक्लिएको छ।

नेपाली समयअनुसार शुक्रबार बिहान भएको खेलमा भेनेजुएलाको घरेलु मैदानमा अर्जेन्टिना १-१ गोलको बराबरीमा रोकिएको हो। खेलको १३औँ मिनेटमा निकोलास ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर ६५औँ मिनेटमा सोलोमोन रोन्डोनले गोल फर्काउँदै भेनेजुएलालाई खेलमा फर्काएका थिए।

त्यसपछि दुवै पक्षबाट गोल हुन सकेन। ९ खेलबाट अर्जेन्टिना १९ अंकसहित शीर्ष स्थानमा कायम छ। दोस्रो स्थानको कोलम्बियाको उति नै खेलबाट १६ अंक छ। उरुग्वे ८ खेलबाट १५ अंकसहित तेस्रो र ब्राजिल ९ खेलबाट १३ अंकसहित चौँथो स्थानमा छन्। भेनेजुएला ९ खेलबाट ११ अंकसहित सातौँ स्थानमा छ।

ब्राजिल भने शुक्रबार बिहानको खेलमा चिलीलाई उसैको घरेलु मैदानमा पराजित गर्दै चौँथो स्थानमा उक्लिएको हो। घरेलु टोलीले खेल शुरू भएको २ मिनेटमै एडुआर्डो भर्गासको गोलमा अग्रता लिएको थियो। तर पहिलो हाफको अतिरिक्त समयमा इगोर यसुले गोल गरेर ब्रजिललाई खेलमा फर्काए। दोस्रो हाफको ८९ मिनेटमा वैकल्पिक खेलाडी लुइज हेनरिकले गोल गरेपछि ब्राजिल विजयी भयो। 

शुक्रबार नै भएका खेलमा इक्वेडर र पाराग्वेले गोलरहित बराबरी खेलेका छन्। दोस्रो स्थानको कोलम्बिया भने बोलिभियासँग १-० गोलले पराजित भएको छ।