मर्दी हिमाल पदमार्गमा सुदीप गौतमको शालिक

मर्दी पदमार्ग पत्ता लगाई विश्वमा प्रचार गर्ने सुदीप गौतमको सम्मानमा बालदडाँडामा पार्कसहित शालिक निर्माण गरिएको छ।

काठमाडौँ- कास्कीको मर्दी हिमाल पदमार्गस्थित बादलडाँडामा सुदीप गौतमको शालिक राखिएको छ। त्यहाँ पार्कसहित शालिक निर्माण गरिएको हो।

उक्त पदमार्ग पत्ता लगाई विश्वमा प्रचार गर्ने गौतमको सम्मानमा सालिक राखिएको हो। माछापुच्छ्रे गाउँपालिका, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेश, मर्दी हिमाल पर्यटन होटल व्यवसाय व्यवस्थापन समिति र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा पार्क बनाएर गौतमको शालिक राखेका हुन्। २०७९ असोज १४ गते बादलडाँडामै भिरबाट लडेर ३५ वर्षको उमेरमा गौतमको निधन भएको थियो।

तत्कालीन समयमा फाट्टफुट्ट भकारी र चित्राले बारिएका भेडीगोठ मात्रै रहेको मर्दीमा पदयात्रा पर्यटनको विकासमा गौतमले गरेको निरन्तर प्रयास र योगदानको सम्मान स्वरूप शालिक बनाइएको माछापुच्छ्रे  गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताएका छन्। "पदमार्ग विकासमा निरन्तर प्रयास गरेर विश्वभरि चिनाउन गरेको योगदानका कारण पार्कसहित सुदीप गौतमको शालिक बनाइएको छ," गुरुङले भने।

सन् २००७ मा गौतमले मर्दी हाइक्याम्पमा होटेल ट्रेकर्स प्याराडाइज सञ्चालन गरेका थिए। त्यसअघि मर्दी पदमार्गमा हाइक्याम्प मात्र नभई फरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, डुँडखर्कलगायतका कुनै पनि स्थानमा होटल थिएनन्। त्यहाँ गोठ मात्रै थिए। होटेललगायतका पर्यटन पूर्वाधार बनेपछि पर्यटकहरू जान थालेका हुन्।

पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जिपबाट पुगेर मर्दी पदयात्रा शुरू हुन्छ। यहाँ सबैभन्दा उचाइको ठाउँ दुई हजार ९७० मिटरमा लो क्याम्प छ।