विद्यालयमा नतिजा सुधारका लागि काठमाडौँ महानगरले ‘फेस्टिभल क्याम्प’ गर्दै

क्याम्पमा सहभागी हुन अहिलेसम्म दुई हजार २७७ विद्यार्थीले चासो देखाएका छन्। १६ विद्यालयलाई क्याम्प सञ्चालन गर्ने केन्द्र तोकिएको छ। 

काठमाडौँ– कक्षा १० का विद्यार्थीहरूको शैक्षिक नतिजा सुधारका लागि काठमाडौँ महानगरपालिकाले दशैँ र तिहारको बीचमा ‘फेस्टिभल क्याम्प’ गर्ने भएको छ। यस्तो क्याम्प कात्तिक ४ गतेबाट सञ्चालन हुनेछ।

क्याम्पमा सहभागी हुन दुई हजार २७७ विद्यार्थीले चासो देखाएका महानगरले जनाएको छ। महानगर शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाका अनुसार ११ वटा स्रोत केन्द्र र एसईई परीक्षामा १५० भन्दा बढी विद्यार्थी भएका पाँच ठूला विद्यालयसमेत १६ विद्यालयलाई क्याम्प सञ्चालन गर्ने केन्द्र तोकिएको छ। 

क्याम्पका लागि कम्तीमा १५० जना विद्यार्थी सहभागी हुनुपर्नेछ। यद्यपि, विद्यार्थीलाई क्याम्पमा सहभागी हुन अनिवार्य गरिएको छैन । 

यसअन्तर्गत सञ्चालन हुने सिकाइको एउटा कक्षामा कम्तीमा २५ जना र बढीमा ३५ जना विद्यार्थीलाई सहभागी गराइनेछ। गणित, विज्ञान र सामाजिक विषयमा सहयोग गर्ने गरी परियोजनामा आधारित कक्षा चल्नेछन्। स्टिम शिक्षाशास्त्रको सिद्धान्त, इ–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, सांस्कृतिक कार्यक्रम, क्याम्प फायर र स्टार गाजिङमा सहभागी हुन पाउनेछन्। 

कक्षा १० का विद्यार्थीलाई अध्ययनप्रति रुचि जगाउनु कार्यक्रम सञ्चालनको मुख्य उद्देश्य रहेको पनि झाले बताए। यस प्रकारको सिकाइबाट नतिजामा सुधार हुने अपेक्षा गरिएको उनको भनाइ छ।