दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिए १३ लाख यात्रु

दशैँ मान्नका लागि एक सातामा १३ लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएका यातायात व्यवसायीले बताएका छन्। 

काठमाडौँ– काठमाडौँ उपत्यकाबाट एक सातामा १३ लाख मानिस बाहिरिएका छन्। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार शुक्रबारसम्ममा उक्त संख्यामा यात्रुहरू काठमाडौँ उपत्यकाका विभिन्न नाका हुँदै बाहिरिएका हुन्।

१८ लाख मानिस दशैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएको थियो। बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासंघका अध्यक्ष विजय स्वारले राससलाई जानकारी दिए। 

“हामीले यस वर्ष दशैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ”, उनले भने, “तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन्।”

अघिल्लो वर्षको दशैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए।