आणविक बमबाट बाँचेका जापानीको समूहलाई नोबेल शान्ति पुरस्कार

जापानको हिरोसिमा र नागासाकीमा भएको आणविक बम विस्फोटबाट बाँचेकाहरूको समूहले यस वर्षको नोबेल शान्ति पुरस्कार प्राप्त गरेको छ।

जापानी संस्था निहोन हिडान्क्योले यस वर्षको नोबेल शान्ति पुरस्कार प्राप्त गरेको छ। निहोन हिडान्क्यो हिरोसिमा र नागासाकीमा भएको आणविक बम विस्फोटबाट बाँचेकाहरूको संगठन हो।

ओस्लोमा शुक्रबार आयोजित कार्यक्रममा यो पुरस्कारको घोषणा गरिएको हो। यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि २८६ जना उम्मेदवार मनोनयनमा परेका थिए। मनोनयनमा पर्नेमध्ये १९७ व्यक्ति र ८९ संस्था थिए।

कार्यक्रममा नोबेल समितिका अध्यक्ष जोर्गेनसेन फ्रेडनेसले यो समूहले आणविक हतियारमुक्त कार्यक्रममा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए। निहोन हिडान्क्योको वेबसाइटका अनुसार यो संस्था सन् १९५६ मा स्थापना भएको हो।

यो संस्थानमा आवद्ध भएकाहरूले विश्वभर पुगेर आणविक हतियारले गर्दा हुने भयानक विनाश र यसले निम्त्याउने पीडादायी अवस्थाबारे बारेमा बताउँछन्।

पुरस्कार समितिले ‘विश्‍वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयास र आफ्नो साक्षात् अनुभवबाट परमाणु हतियार पुन: कहिल्यै प्रयोग गर्नुहुँदैन भनी गरेको प्रदर्शन’का लागि उक्त संस्थालाई पुरस्कृत गर्न लागिएको जनाएको छ।

सन् १९४५ को अगस्टमा हिरोसिमा र नागासाकीमा खसालिएका दुई वटा अमेरिकी आणविक बमका कारण करिब एक लाख २० हजार मानिसको ज्यान गएको थियो। 

जलेर र विकिरणका कारण पछि कैयन्को मृत्यु भएको थियो भने ६ लाख ५० हजार मानिस बाँच्न सफल भएको अनुमान गरिएको छ। आणविक बमबाट बाँचेकाहरूलाई जापानी भाषामा ‘हिबाकुशा’ भनिन्छ।

निहोन हिडान्क्योले जापान र बाहिर बस्ने सबै हिबाकुशाको सामाजिक र आर्थिक अधिकारको प्रवर्द्धन, हिबाकुशामाथि आइपरेको विपत्ति फेरि अन्य व्यक्तिमाथि नपरोस् भनी सुनिश्चित गर्ने उद्देश्यसाथ काम गरिरहेको छ।

सन् २०२३ मा इरानमा महिलामाथि हुने उत्पीडनविरुद्ध अभियान सञ्चालन गर्ने इरानी मानव अधिकारकर्मी नार्गेस मोहम्मदीलाई यो पुरस्कार प्रदान गरिएको थियो।