विपद्बाट अधिक मानवीय तथा भौतिक क्षति बेहोरेको काभ्रे

जिल्लामा करिब १० हजार परिवार प्रत्यक्ष प्रभावित बनेको विपद् व्यवस्थापन समितिको अनुमान छ। बाढी, पहिरो र डुबानबाट बढी प्रभावितको यकिन तथ्यांक सार्वजनिक अझै हुन सकेको छैन। 

काभ्रेपलान्चोक– गत साताको अविरल वर्षामा बाढी, पहिरोले काभ्रेपलान्चोकमा अधिक मानवीय क्षति हुन पुग्यो। स्थानीयका गाँस–बास–कपाससँगै भौतिक संरचना पूर्ण रूपमा क्षति भयो । 

जिल्लामा १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० वटा तहमा बाढी, पहिरोमा परी ७७ जनाले ज्यान गुमाए। यो संख्या यस विपद्मा मृत्यु हुनेमध्ये ३१.५६ प्रतिशत हो। 

यस पटकको बाढी, पहिरोबाट काभ्रेपलान्चोकको पनौती नगरपालिका तथा बेचानचोक र रोशी गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेका छन्। बाढी, पहिरोमा परी जिल्लामा अझै पाँच जना बेपत्ता र ७५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। 

मृतकमध्ये पनौतीमा एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापको महिलाको मृत्यु भएको हो। घटनामा हालसम्म ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ। 

जिल्लामा करिब १० हजार परिवार प्रत्यक्ष प्रभावित बनेको विपद् व्यवस्थापन समितिको अनुमान छ। बाढी, पहिरो र डुबानबाट बढी प्रभावितको यकिन तथ्यांक सार्वजनिक अझै हुन सकेको छैन। 

सडक, विद्युत् र सञ्चार सम्पर्क हुन नसकेका कारण जिल्लाका प्रभावितको क्षतिको विवरण प्राप्त हुन नसकेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए। उनका अनुसार भौतिक संरचना, कृषि तथा पशुपक्षीको यकिन क्षति विवरण आउन अझै केही दिन लाग्नेछ। 

प्रारम्भिक तथ्यांकअनुसार समितिले पनौती एक हजार ५००, रोशीमा ६००, बेथानचोकमा एक हजार, मण्डनदेउपुरमा ५००, नमोबुद्धमा ३००, धुलिखेलमा १००, बनेपा १००, पाँचखालमा १००, तेमालमा ३००, चौंरीदेउरालीमा १००, भुम्लुमा १००, महाभारतमा १०० र खानीखोलामा १०० गरी चार हजार ९०० त्रिपाल, नौ हजार ८०० म्याट र सोही संख्यामा ब्ल्यांकेट उपलब्ध गराउन गृह मन्त्रालयलाई अनुरोध गरेको छ। 

बाढी, पहिरोमा परी ज्यान गुमाएका परिवारका लागि जिल्लास्थित स्थानीय तहले समेत राहत रकम घोषणा गरेका छन्। बाढी, पहिरोले सयौँ परिवार घरबारविहीन भएका छन् भने क्षतिग्रस्त भएका विभिन्न सडकमा यातायात सेवा अझै अवरुद्ध छ। 

प्रभावित क्षेत्र विद्युत् र सञ्चारविहीन अवस्थामा रहेका छन्। सरकारले विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेका स्थानीय तहमध्ये काभ्रेपलान्चोकका आठ तह हुन्। घोषित तह रोशी, पनौती, बेथानचोक, तेमाल, नमोबुद्ध, मण्डनदेउपुर, चौँरीदेउराली र महाभारत गाउँपालिका रहेका छन्। 

जिल्लाका प्रभावित केही स्थानमा स्थानीय बेपत्ता अवस्थामै रहेका छन्। यस कारण मृतकको संख्या बढ्ने सम्भावना देखिन्छ। प्राप्त विवरणअनुसार जिल्लामा ७५ जनाको मृत्यु भएको छ। निधन भएकाको प्रहरीले मुचुल्का प्राप्त गर्न नसक्दा मृतकमा सूचीकृत गर्न सकिएको छैन। 

सरकारले दिने भनेको मृतक प्रतिव्यक्तिको परिवारलाई दुई लाख रुपैयाँका दरले नगद उपलब्ध गराउने काम तीव्र रूपमा भएको छ‍। पहिलो चरणमा ५५ जनालाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालयको टोली घर घर पुग्न थालेको छ। पहिलो चरणमा पनौती, मण्डनदेउपुर, नमोबुद्ध, बेथान्चोक र रोशी गाउँपालिकाका ५५ परिवारलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउन शुरू गरिएको ढकालले बताए।

यस्तै विपद्बाट घर, बहाल, आवास नष्ट भएका या खाद्यान्न बाली तथा जग्गा जमिन वा पसल व्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराको लागि खाद्यान्नसमेत नभएका वा दुवै अवस्थाका पीडित परिवारलाई प्रतिपरिवार पाँच जनासम्म सदस्य भएमा १५ हजार र बढी भएमा २० हजारका दरले नगद सहायता उपलब्ध गराउने भएको छ। यसका लागि स्थानीयको सूची संकलनका लागि स्थानीयले प्रक्रिया अघि बढाएको छ। 

हालसम्म समितिलाई प्राप्त विवरणअनुसार पनौती–१२ मा करिब ७०० परिवार घरबारविहीन, १ नं वडामा ४० परिवार घरबारविहीन भएका छन् भने १०० घर भत्किएका छन्। वडा नं २ मा ५२ घर, वडा नं ३ मा २५ घर पूर्ण रूपमा क्षतिग्रस्त छन्। यस्तै वडा नं ११ मा तीन सय ३७ घर भत्किएको जनाइएको छ।

समितिले तत्काल बेथान्चोक, चौँरीदेउराली र रोशी गाउँपालिकालाई चार थान पाल उपलब्ध गराई स्वास्थ्य सेवा सुचारु गरेको छ। पूर्वाधार, खाद्य कृषि तथा पशुपक्षी, आश्रयस्थल, स्वास्थ्य, शिक्षा, बजार अनुगमन, खानेपानी सरसफाइ तथा स्वच्छन्दता, सामाजिक संरक्षण र वातावरण तथा पोषणका लागि सरोकारवाला कार्यालयहरूको संयोजकत्वमा जिम्मेवारी दिएको समितिले जनाएको छ।

विसं २०२८ पछिको दोस्रो विपत्ति मानिएको काभ्रेपलान्चोकका विभिन्न स्थानमा मूल्यांकनसमेत गर्न कठिनाइ हुने गरी क्षति भएकाले यकिन विवरण प्राप्त हुन समय लाग्ने बताइन्छ। विशेष गरी बेथान्चोक, रोशी, तेमाल, पनौती, बनेपा, धुलिखेल, मण्डनदेउपुर, नमोबुद्ध, चौंरीदेउराली, खानीखोला, भुम्लुलगायतका तहमा धेरै मानवीय तथा भौतिक क्षति भएको छ। 

राष्ट्रिय जनगणना २०७८ मा सामुदायिक प्रश्नावलीमार्फत प्रत्येक वडा कार्यालयमा गई सोधिएका प्राकृतिक विपत् तथा जोखिम बारेमा सोधिएको प्रश्नअनुसार काभ्रेपलान्चोक जिल्लाको कुल १३५ वडामध्ये बाढीको जोखिम ४९ (३६.३० प्रतिशत) वडा, पहिरोको जोखिम ११५ (८५.१९ प्रतिशत) वडा, भूक्षयको जोखिम ४३ (३१.८५ प्रतिशत) वडामा देखिएको थियो। 

यस्तै, जिल्लाका विभिन्न क्षेत्रमा डुबान, आँधी हुरी बतास, चट्याङ्ग, असिना, अतिवृष्टि, खण्डवृष्टि, लू, शीतलहर, सुख्खा वा खडेरी, आगलागी (बस्तीमा), बन डढेलो, हिमताल विस्फोट, हिमपहिरोलगायतका जोखिम छन् । 

जिल्लामा बाढीपहिरोबाट करिब चार हजार पशुपन्छी मरेको अनुमान गरिएको छ। सबैभन्दा धेरै पनौती नगरमा दुई हजार १०० पशुपन्छी मरेका छन्। जिल्लास्थित पशु सेवा कार्यालयका निमित्त प्रमुख डा निशान्त शर्मा गेलालका अनुसार जिल्लाका १३ वटै तहबाट प्रारम्भिक तथ्यांक संकलन गर्ने कार्य भइरहेको छ। 

सञ्चार सम्पर्क नभएका कारण यकिन तथ्यांक आउन केही दिन लाग्ने भएकाले प्रारम्भिक तथ्यांक संकलन गरी खोज, उद्धार तथा उपचार र राहतका कार्यक्रम शुरू गरिएको गेलाले बताए। उनका अनुसार मरेका पशुहरूको व्यवस्थापन, घाइते पशुको उपचार तथा आहारका लागि स्थानीय तहमार्फत सहयोग उपलब्ध गराइएको छ। स्थानीय सडकमार्ग सञ्चालन लगत्तै प्रभावित तहमा सहयोग उपलब्ध गराइने गेलालले बताए। 

जिल्लाको रोशी, चौँरीदेउराली, महाभारत, खानीखोलालगायतका तहमा भएको क्षतिको विवरण नै प्राप्त भएको छैन। प्राप्त जानकारीअनुसार धुलिखेलमा २९१, बनेपामा ६९, नमोबुद्धमा १२, मण्डनदेउपुरमा तीन, पनौतीमा दुई हजार १००, पाँचखालमा ४४०, बेथानचोकमा ८०, भुम्लुमा ९८७ र तेमालमा २५ वटा पशुपन्छी मरेको कार्यालयले जनायो। 

यसमध्ये ५२ वटा गाई, ४० वटा भैँसी, १६४ वटा बाख्रा, ११३ वटा बंगुर, एक हजार १२९ कुखुरा, ४०४ वटा हाँस, पाँच वटा खरायो गरी चार हजार सात वटा पशुपन्छी मरेको प्रारम्भिक तथ्यांक प्राप्त भएको हो। मरेका पशुको उचित व्यवस्थापन हुन नसक्दा गाउँभर गन्ध फैलन थालेको स्थानीय बताउँछन्। 

यसैगरी बाढी, पहिरोले काभ्रेपलान्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ। जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाइले जनाएको छ। अविरल वर्षाका कारण बाढी, पहिरो आएदेखि विद्यालय पूर्ण रूपमा बन्द गरिएको छ भने विद्यालयले अर्को सूचना जारी नगरेसम्म विद्यालय नै बन्द रहने क्षतिग्रस्त विद्यालय सार्वजनिक सूचनामार्फत जानकारी गराएका हुन्। 

एकाइ प्रमुख देवकी ढकालले बाढी, पहिरोबाट जिल्लाको पनौती नगरपालिकामा १३, रोशी गाउँपालिकामा १२, बेथानचोक गाउँपालिकामा पाँच, भुम्लु गाउँपालिकामा १०, तेमाल गाउँपालिकामा सात, धुलिखेल नगरपालिकामा पाँच, पाँचखाल नगरपालिकामा १३, चौँरीदेउराली गाउँपालिकामा २८, बनेपा नगरपालिकामा तीन, खानीखोला गाउँपालिकामा चार र मण्डनदेउपुर नगरपालिकामा ६ विद्यालयमा क्षति पुगेको जानकारी दिइन्। 

उनका अनुसार बाढी, पहिरोबाट सबैभन्दा धेरै विद्यालयमा क्षति पुगेको स्थानीय तह रोशी, पनौती र बेथानचोक हुन्। “रोशी, पनौती र बेथानचोकका अधिकांश विद्यालयमा अधिक मात्रामा क्षति पुगेकाले तत्काल सञ्चालन गर्नसक्ने अवस्था छैन”, उनले भनिन्।

एकाइका अनुसार बाढी, पहिरोका कारण पनौतीमा तीन, रोशीमा दुई, तेमालमा दुई र धुलिखेल नगरमा एक विद्यार्थीको मृत्यु भएको छ। उनले जिल्लाका क्षतिग्रस्त विद्यालयमा के–कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारे माथिल्लो निकायसँग समन्वय गरेर मात्रै निर्क्योल गरिने बताइन्।

उनका अनुसार बाढी, पहिरोले क्षति पुर्‍याएको जिल्लाको दुई स्थानीय तह नमोबुद्ध नगर र महाभारत गाउँपालिकाको विद्यालयमा पुगेको क्षति विवरण आइपुगेको छैन।

यसैबीच जिल्लाका विपद् प्रभावित चार तहलाई बागमती प्रदेश सरकारले २०/२० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। गत शनिबारको मन्त्रिपरिषद् बैठकले काभ्रेपलान्चोकको रोशी, बेथानचोक र तेमाल गाउँपालिका तथा पनौती नगरलाई २० लाख रुपैयाँका दरले सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो। 

यस्तै नमोबद्ध र मण्डनदेउपुर नगर तथा चौँरीदेउराली र महाभारत गाउँपालिकालाई १० लाख रुपैयाँका दरले रकम पाँच करोड ८० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो।

असोज १२ गते रोशी खोलाको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिको सीमास्थल चौकीडाँडामा बगाएपछि उक्त स्थानबाट सडकसम्पर्क टुटेपछि रोशी गाउँपालिकाको विपद् पीडित तथा राजमार्ग हुँदै मध्यपहाडी क्षेत्र एवं पूर्वी तराईबाट आएका अलपत्र यात्रुलाई भोलिपल्टदेखि हेलिकप्टरमार्फत उद्धार गर्न थालिएको थियो । 

राजधानीसँग मध्यपहाडी क्षेत्र हुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दूरीको उक्त राजमार्ग गत शनिबार विहानदेखि नै ठप्प अवस्थामा रहेको छ । 

नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ को सीमास्थल उक्त स्थानमा रोशी खोलाले कटान गर्दै सडक बगाएपछि माथि ठूलो भीर भएको र रोशी खोलाको बहावका कारण सो स्थानबाट पैदलसमेत आवतजावत गर्न सकिएको थिएन। 

विभिन्न स्थानमा बाढीले सडक अवरुद्ध बनाएपछि उक्त राजमार्गमा अड्किएका सवारीसाधन सञ्चालन काभ्रेपलान्चोकको भकुण्डेबेंसी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मतको कामसमेत थालिएको जनाइएको छ। 

सडक डिभिजन कार्यालय भक्तपुरले गत मंगलबारदेखि रोशी खोलाको बाढीले सबैभन्दा बढी अवरुद्ध तथा क्षतिग्रस्त सडक मर्मतको काम सुरु गरेको थियो। साथै, विभागले बगाएको चौकीडाँडाको दुई सय मिटर सडकमा अस्थायी रूपमा सडक निर्माण थालेको जनाइएको छ। 

रोशी खोलाको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रूपमा यातायात सञ्चालन हुने गरी निर्माण थालिएको कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर सुमन योगेशले बताए। एकतर्फी भए पनि यातायात सञ्चालन गर्ने गरी अस्थायी रूपमा सडक बनाउन थालिएको उनले जानकारी दिए।