लेबनानमा शान्तिसेनामाथि गोलाबारी नगर्न इजरायललाई अमेरिकी राष्ट्रपतिको आग्रह

विगत ४८ घण्टामा शान्तिसेनामाथि आक्रमणका दुई वटा घटनामा श्रीलंकाका दुई र इन्डोनेसियाका दुई गरी चार सैनिक घाइते भएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले हिज्बुल्लाहसँगको द्वन्द्वमा रहेको इजरायललाई लेबनानमा रहेका संयुक्त राष्ट्रसंघीय शान्तिसेनामाथि गोलाबारी नगर्न आग्रह गरेका छन्।

विगत ४८ घण्टामा शान्तिसेनामाथि आक्रमणका दुई वटा घटना भएपछि बाइडेनले इजरायलसँग शान्तिसेनामाथि गोली प्रहारका घटना रोक्न 'पूर्णतया सकारात्मक' आग्रह गरेको बीबीसीले जनाएको छ। इजरायलको आक्रमणमा परी श्रीलंकाका दुई जना शान्तिसेना घाइते भएका थिए।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले शुक्रबार यूएन इन्टेरिम फोर्स इन लेबनान (युनिफिल) का दुई सैनिक घाइते हुनुमा आफू जिम्मेवार रहेको स्वीकार गरेको थियो। "आईडीएफ सेना नाकुरामा युनिफिल आधारक्षेत्र आसपास खटिएको बेला खतरा महसुस गरेपछि गोली चलाइएको थियो," इजरायली सेनाले भनेको छ। उक्त घटनाको उच्चस्तरमा छानबिन गरिने पनि इजरायलले जनाएको छ।

इजरायली सेनाले आक्रमण गर्दा गत बिहीबार युनिफिलमा खटिएको दुई जना इन्डोनेसियन सैनिक पनि घाइते भएका थिए। सुरक्षा टावरमा बसिरहेको बेला इजरायली सेनाले गोली चलाएपछि उनीहरू त्यहाँबाट खसेका थिए।

यी घटनापछि फ्रान्स, इटाली र स्पेनका नेताहरूले संयुक्त वक्तव्य जारी गरी आलोचना गरेका छन्। उनीहरूले इजरायलका यस्ता कदम तुरुन्त रोकिनुपर्ने जनाएका छन्। श्रीलंकाको विदेश मन्त्रालयले पनि इजरायली सेनाको कदमको कडा शब्दमा आलोचना गरेको छ।