दार्शनिक एरिस्टोटल भन्थे, ‘जो पनि रिसाउन सक्छ, रिसाउन सजिलो हुन्छ। तर सही व्यक्तिसँग, सही मात्रामा, सही समयमा, सही कारणले र सही तरिकाले रिसाउन सजिलो छैन।’
हिन्दी फिल्म देवदासमा भावनाबारे कलात्मक चित्रण छ। फिल्मको शुरूआतमा देवदास विदेशबाट पढाइ सकेर फर्केकोमा आमा हर्षित र उत्साहित हुन्छिन्। पछि पारो र देवदासको प्रेमको आवेग र घमन्डका कारण उनीहरूबीच बिछोडको दृश्य देखिन्छ। बिछोडले निम्त्याएको आत्मविनास देख्न मिल्छ फिल्ममा। शुरूआतदेखि अन्त्यसम्म विभिन्न भावनाका आँधीबेहरी भेटिन्छ। देवदासजस्ता चलचित्रका निर्माता, अन्य रंगकर्मी र भावुक उपन्यासकारका लागि भावना ‘जीवनचित्र’को रंग हो। भावनाले मानिसका गतिविधिलाई रंगीन र जीवन्त बनाउँछ।
स्नायुविज्ञले मानवलगायत विभिन्न जनावरका भावनालाई एकै तरिकाले हेर्छन्। लाखौँ वर्षको इतिहास बोकेका प्राणीमा भावनाले व्यवहार निर्दिष्ट गर्न सहयोग पुऱ्याउँछन्। दुस्मन अथवा अन्याय गर्नेसँग रिस उठ्छ ता कि उनीहरूमाथि प्रतिकार गर्न सकियोस्। विशेष गरी मानवजस्तो सामाजिक, भाषा प्रयोग गर्ने प्राणीमा विशिष्ट भावनात्मक क्षमता हुन्छ। दिमागको 'अमिगडिला' भन्ने भाग भावनासँग सम्बन्धित छ। कुनै पनि क्रिया प्रतिक्रियासँग तुरुन्त जुध्नु पऱ्यो भने अमिगडिला सक्रिय हुन्छ। अलि समय सोचेर काम गर्दा भने कोर्टेक्स सक्रिय हुन्छ। अमिगडिला र कोर्टेक्स दुवै मिलेर मानवको गतिविधि निर्धारण गर्छन्। अमिगडिला दिमागको धेरै पुरानो भाग हो। मानवभन्दा अविकसित प्राणीमा पनि यो भाग पाइन्छ। कोर्टेक्सले भने मानव दिमागको ठूलो भाग ओगटेको हुन्छ र विकसित प्राणीहरूमा यो ठूलो पाइन्छ।
आजकल भावनाको सबैभन्दा गहन अध्ययन मनोवैज्ञानिकले गर्छन्। मनोवैज्ञानिक डेनियल गोलमेनले भावनात्मक बौद्धिकताको सिद्धान्त प्रतिपादन गरेका छन्। उनका अनुसार संसारमा सफलताको प्रक्षेपण बौद्धिकताले साधारणतया गर्न सकिन्छ। तर बौद्धिकले मात्र सफलता प्रक्षेपण गर्न सक्दैन। बौद्धिकताले गर्न नसकेको सफलताको प्रक्षेपण भावनात्मक बौद्धिकताले गर्न सक्छ। सभ्यताको हरेक तहमा भावनात्मक बौद्धिकताले महत्त्व राख्छ। जति प्रशासनमा माथिल्लो तहमा पुगिन्छ त्यति बढी भावनात्मक बौद्धिकताको महत्त्व बढ्न जान्छ।
डेनियल गोलमेनका अनुसार भावनात्मक बौद्धिकताका पाँच पाटा छन्। पहिलो, आफ्नो भावना ठम्याउन सक्नु। हामीलाई कसैले गाली गरे कि त रिस उठ्छ कि त डर लाग्छ। मलाई रिस उठ्यो अथवा मलाई डर लाग्यो भनेर भावना अनुभूति गर्दैगर्दा भावना निष्पक्ष रूपमा ठम्याउन सक्नु भावनात्मक बौद्धिकता हुनुको लक्षण हो। दोस्रो, भावनाको आफूले गर्न सक्ने नियमन हो। हामीलाई बेलाबेला रिस उठ्छ। तर भावनात्मक रिसका कारण हामी आत्मनियन्त्रण गुमाउन पुग्छौँ भने विकसित मानव समाजमा यसको काम छैन। भावनाको दास हुनबाट यो दोस्रो गुणले रोक्छ। कतिपय मनोवैज्ञानिकहरू चाहिँ भावनालाई रोक्ने अथवा नियमन गर्नुहुँदैन भन्छन्। भावनाको लहर अनुभव गर्दै त्यसले के जनाउन खोजेको छ, खोतल्नु पर्छ भन्नेहरू पनि छन्। भावनात्मक असन्तुलनले केही व्यावहारिक असन्तुलन जनाउँछ भन्ने एक मनोवैज्ञानिक सुसन डेभिड हुन्। व्यावहारिक असन्तुलनको जड समाधान नगरी भावनालाई जकड्ने काम गरे राम्रो नतिजा नआउने उनको ठम्याइ छ।
भावनात्मक बौद्धिकताको तेस्रो पाटो आन्तरिक अभिप्रेरणा हो। हामी स्कुल, कलेज र आफ्ना दैनिक काममा देख्न सक्छौँ, त्यहाँ कोही कोही उच्च अभिप्रेरणा भएका व्यक्तित्व हुन्छन्। यस्ता व्यक्तिमा बौद्धिक क्षमता कम भए पनि एउटै काम दोहोऱ्याइ तेहेऱ्याइ पार लगाएरै छोड्छन्। उनीहरूभित्र एक किसिमको ननिभ्ने आगो हुन्छ। मनोवैज्ञानिकहरूले केही बच्चाबच्चीलाई 'मार्समेलो' मिठाई दिएर एउटा परीक्षण गरेका थिए। बच्चाबच्चीलाई दुइटा विकल्प दिइएको थियो। एउटामा अहिले नै थोरै मिठाई खान मिल्थ्यो भने अर्कोमा धेरै मिठाई अलि पछि खान मिल्थ्यो। जुन बच्चाबच्चीले आत्मनियन्त्रण देखाएर धेरै मिठाई पछि खाने विकल्प चुन्थे, तिनीहरू भविष्यमा बढी सफल भएको भेट्टियो।
गोलमेनका अनुसार भावनात्मक बौद्धिकताको चौथो पाटोचाहिँ अरूको भावना बुझ्न सक्ने क्षमता हो। हामी सबै मानिसमा केही मात्रामा अरूको भावना बुझ्न सक्ने क्षमता बाल्यकालदेखि नै हुन्छ। भावना बुझ्न मुखको भाव, शरीरको भाषा र भाषाको लवज पढ्न सक्नुपर्छ। हामी कसैलाई जति नजिकबाट चिन्छौँ, त्यति नै सजिलै तिनको भावना बुझ्न सक्ने हुन्छौँ। मुखको भाव धेरैजसो संसारका जुनसुकै संस्कृतिका मानिसले बुझ्न सक्ने विश्वव्यापी एकै खालको हुन्छ। रंगमञ्च र चलचित्रमा अभिनय गर्ने कलाकर्मी यी भावहरू प्रस्तुत गर्न खप्पिस हुन्छन्। मुखको भाव, शरीरको भाषा अनि भाषाको लवजमा अनुसन्धान गर्न रुचि भए विश्लेषणात्मक दृष्टिले चलचित्र हेर्न सकिन्छ।
भावनात्मक बौद्धिकताको अन्तिम पाटो अरूको भावना खेलाउन अथवा अरूको भावनासँग चल्न सक्ने क्षमता हो। यो क्षमता हुन पहिले अरूको भावना बुझ्न सक्ने हुनुपर्छ। मानिसमा अरूप्रतिको समानुभूति भाव निकै प्रारम्भिक बाल्यकालदेखि हुन्छ। कोही रोएमा अथवा कसैलाई चोट पुगेमा निकै साना बच्चाहरूले पनि सहानुभूति प्रकट गर्छन्। अरूको भावनाप्रति समानुपातिक प्रतिक्रिया दिन सक्नेहरू जिन्दगीका विभिन्न पक्षमा सफल रहन सक्छन्। प्रजातन्त्रमा जबरजस्ती काम लगाउने शैली सफल हुन सक्दैन। अरूको भावना र क्षमता बुझेर त्यहीअनुसार काम लगाउने प्रशासक सफल हुन सक्छन्। त्यस्तै प्रेम र अरू सम्बन्धमा पनि अरूको भावना बुझ्न सक्ने व्यक्ति सफल रहन्छन्।
व्यक्तिगत सफलता मात्र नभएर पार्टी र नेताको राजनीतिक सफलतामा पनि भावनाको उच्च महत्त्व हुन्छ। राजनीतिमा सफल हुन खासमा विषयगत नीति नै सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। तर धेरै हदसम्म भावना राजनीतिमा हाबी हुन्छ। नेपालदेखि अमेरिकासम्म अनि आदिकालदेखि वर्तमानसम्म भावनाको राजनीति मानव समाजमा चल्दै आएको छ। केही समय पहिले मात्र राजनीतिमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भावनाको राजनीति गर्ने राजनीतिज्ञ हुन्। उनले पार्टी स्थापना गर्न सक्नुमा उनले ‘सिधा कुरा जनतासँग’मा आमनागरिकसँग बनाउन सकेको भावनात्मक सम्बन्ध नै प्रमुख कारण हो।
अहिले मात्र नभएर पञ्चायतकालमा पनि भावनाको राजनीति पर्याप्त हुन्थ्यो। पञ्चायत व्यवस्थालाई देशभक्तिसँग जोडेर काफी भावुक देशभक्तिका गीत लेखिए, संगीत भरिए, लय हालेर गाइए र दिमाग भुटिए। अमेरिकाको राजनीतिमा पनि चाहे ट्रम्प हुन् या ओबामा सबैले भावनाको राजनीति गरेका हुन्। ओबामाको पहिलो चुनावताका विशेष गरी भावनाको राजनीति गरिएको थियो। भाषणहरू हुन् या ‘हो, हामी सक्छौँ’ जस्ता चुनावी नारा, व्यापक भावनात्मक प्रतीकको रूपमा प्रयोग भएको थियो। न्युयोर्क राज्यका पूर्वगभर्नर मारियो कुमोको चर्चित भनाइ यहाँ सान्दर्भिक होला, ‘चुनाव पद्यमा लडिन्छ, शासन गद्यमा गरिन्छ।’ भावनात्मक कवितामय तरिकाले आखिर ओबामाले चुनाव जिते। सन् २००८ को चुनावी लहरजस्तै अरू लहरहरू पनि भावनामै बहन्छन्।
अमेरिकाको रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्प पनि भावनाका कुचीकार हुन्। गरिब, ग्रामीण भेगका अमेरिकीलाई उनले मोहनी लगाएका छन्। तीन वटा राष्ट्रपतिको चुनावमा धेरै विरोधका बाबजुद एक तप्काका जनताले उनलाई भगवान्कै स्वरूप मानेका छन्। प्रयोग गर्नै नमिल्ने भाषा प्रयोग गर्दा पनि उनको लोकप्रियतामा कुनै असर परेको छैन। उनले जे भन्छन् त्यो शायद गर्दैनन्। मेक्सिकोको सिमानामा बडेमानको पर्खाल लगाउँछु भने, लगाउन सकेनन्। तर त्यत्ति भनिदिनु नै एक प्रकारले जनतालाई भावनात्मक समर्थन भएको छ। उनी निकै तथ्यहीन कुरा गर्छन् तर भावनात्मक सम्बन्धमा बाँधिएका जनतालाई केही फरक परेको छैन।
मनोवैज्ञानिक, कलाकार, स्नायुविज्ञ र राजनीतिज्ञबाहेक दार्शनिकले पनि भावनालाई नजिकबाट केलाएका छन्। धेरैले मानवलाई तर्कशील प्राणी भन्छन् तर थोरैले भावनात्मक प्राणी भनेका छन्। मान्छे पनि एक प्रकारको जनावर हो। अरू जनावरमा जस्तै मानवमा भावना हुन्छ। अझ भाषा र तर्कशक्ति भएकोले मानवमा विशिष्ट भावना हुन्छन्। पुराना दार्शनिक प्लेटोले भनेका छन्, ‘मानिस एउटा रथ हो भने रथका घोडा मानिसका भावना हुन्। बेलगाम घोडाहरूको गन्तव्य हुँदैन। एउटा घोडा एकतिर जाला त अर्को घोडा अर्कोतिर। गन्तव्यसम्म पुग्न घोडामा सारथिको आवश्यकता पर्दछ। मानिसको भावनाका सारथि तिनको तर्कशक्ति हो।’ यस्तै, सारसहित दार्शनिक एरिस्टोटल भन्थे, ‘जो पनि रिसाउन सक्छ, रिसाउन सजिलो हुन्छ। तर सही व्यक्तिसँग, सही मात्रामा, सही समयमा, सही कारणले, सही तरिकाले रिसाउन सजिलो छैन।’
भावनाको दासता छिचोलेर हामी कसरी तर्कशील हुन सक्छौँ? कानेमेन भन्ने मनोवैज्ञानिकका अनुसार मानिसमा दुई तरिकाका सोच-प्रक्रिया हुन्छन्। एक तरिकाको सोच–प्रक्रियाले एकदम छिटो निर्णय गर्छ। जस्तै: रिसाएको मुख देखेर हामी रिसाएको रहेछ भनेर तुरुन्त धारणा बनाउँछौँ। अर्को खालको सोच–प्रक्रियाले समय लगाएर निर्णय लिन्छ। जस्तै, २३४ ले ३४५ लाई गुणन गर्नुपऱ्यो भने हामीले कापी र कलम लिएर समय लगाएर उत्तर खोज्नुपर्छ। मानिसलाई दुवै प्रकारका प्रणाली अत्यावश्यक पर्छन्। हाम्रो भावनाको प्रणाली पनि पहिलो किसिमको सोच प्रणालीजस्तै हुन सक्छ। जंगलमा सिकारी जीवन बिताउँदा पहिलो प्रणाली आवश्यक थियो। आधुनिक जीवनशैलीमा भने भावनाले अनावश्यक अन्धवेग मात्र सिर्जना गर्ने हुनसक्छ। भावनात्मक उत्तेजनाको निराकरण गर्न हामीले आफ्नै भावना र अरूहरूको भावनाको निष्पक्ष दर्शक हुन सिक्नुपर्छ।
(भट्टराई काठमाडौँ विश्वविद्यालय, बायोटेक्नोलोजी विभागका उपप्राध्यापक हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
