कामकै लागि दशैँ बिर्सिएका ‘पर्यटक भरिया’

पर्यटन व्यवसायमा आबद्ध अधिकांश युवाहरू यतिखेर खुम्बु पुगेका छन्। भदौ अन्तिमबाट खुम्बुमा पर्यटन सिजन शुरू भएसँगै युवा चाडपर्व नभनी व्यवसायमै व्यस्त छन्।

सोलुखुम्बु– दशैँका घमाइला दिन, जताततै रमाइलो। दशैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति। सोलुखुम्बु सोताङका नवीन राईलाई भने यसको प्रवाह छैन।

उनी फूलपातीकै दिन पर्यटकको भारी खोज्दै उच्च हिमाली भेग खुम्बु क्षेत्र हानिएका छन्। उमेरले २४ वर्ष मात्रै पुगेका राईलाई दशैँले भन्दा बढी जिम्मेवारीले थिचेको छ। त्यसैले फूलपातीका दिन सबै जना घर फर्किँदा उनी भने घर छोडेर भारीको खोजीमा उकालो चढेका चढेका हुन्।

“हामीलाई के दशैँ, के तिहार! सधैँ यस्तै हो, हाल खुम्बुमा पर्यटकीय सिजन छ, साथीहरूले विदेशी लिएर आएका छन् रे, त्यसैले भारी बोक्न हिँडेको”, लामो सुस्केरा हाल्दै राईले भने, “काम नगरी हुँदैन। घरमा आमा बुवा, भाइबहिनी पाल्नैपर्‍यो, यतिबेला दसैँ मनाउन भनेर बस्यो भने घर कसरी चल्छ? अब खुम्बुमै भारी बोक्दै दसैँ मनाउने हो।”

जिल्लाका तल्लो भेगका अधिकांश युवा यति बेला काम खोज्दै खुम्बु पुगेका छन्। अन्य समयमा अध्ययनमा व्यस्त हुने विद्यार्थीसमेत दशैँ बिदाको मौकामा पर्यटकको भारी बोक्न लुक्ला पुग्ने गरेका छन्। उनीहरूले भारी बोकेर दैनिक दुई हजार रुपैयाँसम्म कमाउने गरेको लुक्लाका पर्यटन व्यवसायी अमृत मगरले बताए। 

सल्लेरीमा बसेर क्याम्पस पढ्दै गरेका माप्यदुधकोशीका रमेश विक बिदाको समयमा अहिले नाम्चे पुगेका छन्। अन्य समयमा कलेज जानुपर्ने भएकाले दशैँ, तिहारको बिदामा पर्यटकको भरियाका लागि खुम्बु आएको विकले बताए।

“पढाइ खर्च जोहो गर्ने सिजन नै यही हो, विदेशीको भारी बोक्दा भएको आम्दानीले पढाइ खर्च चलाउने गरेको छु,” उनले भने। 

दशैँ मनाउन अन्य क्षेत्रमा घर फर्कनेको लर्को लागिरहँदा खुम्बु क्षेत्रमा भने भरियाको चहलपहलले दसैँ नै बिर्साउने गरेको छ।

पिठ्युँमा गह्रौँ भारी बोकेर उकालो चढ्दै गरेका गोराखानीका प्रदीप मगरले भने, “हामीलाई दशैँको कुनै वास्ता छैन। यही बेला काम नगरेर बाँकी समयको गर्जो टार्न सकिँदैन। हरेक वर्ष खुम्बुमा पर्यटकको आवागमन हुने भएकाले बर्सेनि यसैगरी यहाँ आउने गरेको छु। दशैँ नमनाएको पनि पाँच वर्ष नै भयो। विदेशीहरू यही बेला आउँछन्, विदेशी डुलाउनु पर्छ। कसरी दशैँ मनाउनु त!”

संसारकै प्रमुख पर्यटकीय गन्तव्य मानिने सोलुखुम्बुको खुम्बु क्षेत्रमा ‘पर्यटकीय मौसम’ शुरू भएको छ। त्यसैले पर्यटन व्यवसायी पनि दशैँतिहार जस्ता चाडपर्वलाई छोडेर ट्रेकिङमा जाने गरेका छन्। खुम्बुमा हाल दैनिक तीन सय जनासम्म विदेशी पर्यटक भित्रिने गरेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको तथ्यांक छ।

त्यसैले पर्यटन व्यवसायमा लागेका युवामा चाडपर्वको सट्टा पर्यटक आगमनले थप उत्साह भर्ने गरेको लुक्लाका अमृत मगर बताउँछन्। “वर्ष दिनमा मनाइने दशैँजस्ता महत्त्वपूर्ण चाडपर्व सबैको लागि विशेष नै हुन्छन् तर चाडपर्वमा रमाउने कार्यले मात्रै घरपरिवार धान्न सकिँदैन। त्यसैले साथीसँगी मिलेर विदेशीलाई खुसी पार्न यहाँ आउँछौँ । उहाँहरूको खुसीमा आफ्नो खुसी बिर्साउनुपर्छ”, उनको भने। 

पर्यटन व्यवसायमा आबद्ध अधिकांश युवाहरू यतिखेर खुम्बु पुगेका छन्। भदौ अन्तिमबाट खुम्बुमा पर्यटन सिजन शुरू भएसँगै युवा चाडपर्व नभनी व्यवसायमै व्यस्त छन्। खुम्बुमा वर्षको दुई पटक पर्यटकयाम हुन्छ। पहिलो फागुन, चैत, वैशाख र अर्को असोज, कात्तिक र मंसिर। त्यसैले यस पटक पनि खुम्बु क्षेत्र हाल स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ छ। 

सगरमाथासहितका हिमशृङ्खला अवलोकनका लागि आएका पर्यटकले खुम्बु भरिएसँगै पर्यटकको भारी बोक्ने तथा पथप्रदर्शकका लागि युवासमेत यहाँ आउने गरेको सेर्कासिङका पर्यटन व्यवसायी डिकबहादुर दर्नालले बताए।

“यहाँ वर्षको करिब ६ महिना मात्रै पर्यटक सिजन चल्ने भएकाले दशैँको भन्दा व्यवसाय चलाउने चटारो हुन्छ, यही व्यवसायबाट घरखर्चदेखि सबै गुजारा चलाउनुपर्ने भएकाले मन हुँदाहुँदै पनि चाडपर्वमा घर बस्न पाउँदैनौँ”, दर्नालले भने। 

करिब दुई दशकदेखि पर्यटक गाइडको रूपमा काम गर्दै आएका दर्नालले हरेक वर्ष यसरी नै बित्ने गरेको सुनाए। ट्रेकिङ कम्पनीहरूले अन्य समयमा घर पठाउने र यस सिजनमा बोलाउने भएकाले चाडपर्वलाई थाँती राखेर व्यवसायमा हिँड्नुपरेको उनको भनाइ छ। 

हाल लुक्लामा दैनिक दुई सयभन्दा बढी हवाई उडान हुने गरेको र दैनिक एक हजार बढी पर्यटक हवाइमार्गबाट खुम्बु भित्रिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीले बताए।

पर्यटकको चाप बढेसँगै खुम्बुका होटल तथा लज भरिभराउ भएका छन्। जसकारण व्यवसायीमा पनि निकै व्यस्तता बढेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताए। “अन्य समयमा खाली हुने होटल यतिबेला खचाखच भरिएका छन्।  बास पाउन मुस्किल छ”, उनले भने। 

पर्यटकको आगमन बढ्दा यहाँका कर्मचारीलाई पनि निकै चटारो छ। लुक्लास्थित गाउँपालिकाको जाँचकेन्द्र तथा जोरसल्लेस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोइन्टका कर्मचारीहरूमा पनि व्यस्त छन्।

निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले पर्यटकको आगमन बढ्दा कर्मचारीले पनि दशैँ मनाउन पालो लगाएर जान परिरहेको बताए। “थोरै कर्मचारीले धेरै पर्यटकहरूको तथ्यांक संकलन तथा अभिलेखीकरण गर्नुपर्ने भएकाले सबैले घर जान पाउँदैनौँ । के गर्नु काम गर्नैपर्छ। यसैमा रमाइरहेका छौँ”, उनले सुनाए।