एक महिनादेखि गोठको बसाइँले आजित भइसकेको घुर्नीदेवी बताउँछिन्। उनलाई पुनः घर फर्केर नातिनातिनीसँग समय बिताउन, घरधन्दामा सघाइदिन मन छ। तर बुहारीको व्यवहार सम्झेर घर फर्किन नचाहेको उनको भनाइ छ।
काठमाडौँ– गाउँभरि दशैँको रौनक छ। बालबच्चा मेला घुमफिरमा रमाइरहेका छन्। युवा गाउँमै भइरहेको सांस्कृतिक र बाहिरबाट आएका ‘आर्केस्ट्रा’ हेरेर मनोरञ्जन लिइरहेका छन्। वृद्धवृद्धा पूजापाठमा लिन छन्। कोही भने पारिवारिक जमघटमा व्यस्त। तर त्यही गाउँकी घुर्नीदेव महतोलाई भने दशैँको रौनकले छोएको छैन। उनी गाउँभन्दा अलिक पर झुपडीमा बसिरहेकी छिन्, जहाँ उनीसँग बोलचाल गर्नेसमेत कोही छैन।
महोत्तरीको मटिहानी बजारबाट करिब एक किलोमिटरको दूरीमा पर्छ, सुगा गाउँ। गाउँ प्रवेश गरेलगत्तै एउटा झुपडीमा जो कोहीको आँखा पुग्छ, जहाँ घुर्नीदेवी ‘डाला’ बुनिरहेको भेटिन्छिन्। आजभोलि त्यही डाला बुनेर उनका दिन कटिरहेको छ। घुर्नीदेवी यसरी एक्लै बस्न थालेको धेरै भएको छैन। उनको बुहारीको टोकसो सहन नसकेर उनी घर छोडेर यसरी बस्न थालेकी हुन्।
उनले वृद्धावस्थामा जीवन गुजारा गरिरहेको झुपडीमा पहिले गाईगोठ र दाउरा हुन्थे। घरबाट निकालिएपछि आफूलाई चाहिने जत्ति सरसामान राखेर त्यहाँ बस्न थालेकी हुन्। बुहारीको व्यवहारबाट आजित भएर आफू गोठमा बस्ने निर्णयमा पुगेको घुर्नीदेवी बताउँछिन्। “म ६२ वर्ष लागेँ। मेरो जम्मा एक जना छोरा, त्यो पनि विदेश छन्। बुहारीसँग दिनरात झगडा मात्रै हुन्छ। गालीबेइज्जती त यति गर्छिन् कि सुन्दा नि लाज हुन्छ,” घुर्नीदेवी भन्छिन्, “जुन एउटा छोराका लागि यत्रो सबथोक गरेर हुर्काए, त्यसलाई पनि खासै मतलब छैन। हेरौँ, कति दिनकै मेरो जिन्दगी छ र?”

दुःखैदुःख
घुर्नीदेवीका कष्टका दिन श्रीमान्लाई गुमाएसँगै शुरू भए। करिब ४५ वर्षअघि काठमाडौँमा उनका श्रीमान्को मृत्यु भएको थियो। उनलाई श्रीमान्ले आफू मजदुरी गर्न काठमाडौँ जान लागेको बताएका थिए। त्यही बेलादेखि आफू सधैँ बेसहारा भएर बसिरहेको उनी बताउँछिन्। त्यतिबेला उनका छोरा जम्मा पाँच वर्षका थिए।
“मलाई एक दिन अचानक खबर आयो ‘तपाईंको श्रीमान्को मृत शरीर फेला परेको छ’ भनेर। केही गाउँका मान्छेले मलाई काठमाडौँ लिएर गए,” घुर्नीदेवी भन्छिन्, “शुरूमा लाग्यो के भएको हो? कसैले मारिदिएको हो कि? पछि खुल्यो, उहाँ राति सुतेपछि उठ्दैउठ्नु भएन।”
यो घटनापछि घुर्नीदेवी आफ्ना छोराका लागि आफैँ परिश्रम गर्न थालिन्। कहिले खैनी बेच्न मटिहानी बजार पुग्थिन्, कहिले गाउँकै साहु महाजनको खेतमा रोपाइँ गर्थिन्। यो क्रम करिब ४० वर्षसम्म चल्यो। त्यसरी नै जुटाएको पैसा सँगालेर छोरालाई १७ वर्षको उमेरमा कतार पठाएकी थिइन्। अहिले उनको छोराका चार सन्तान छन्, दुई छोरा र दुई छोरी।
घुर्नीदेवी अहिले पनि सातआठ घण्टा काम गर्छिन्। कुनै दिन कसैको बाख्रा चराइदिन्छिन्, कुनै दिन कसैलाई रारीको करका सामग्री बुनिदिन्छिन्। “म यी कामको पैसा लिँदिनँ। बरु उनीहरूलाई आफ्ना लागि खाना बनाइदिन भन्छु। पैसा अलिअलि वृद्धभत्ताबाट हुन्थ्यो त्यो पनि बुहारीले खोसिहालिन्,” घुर्नीदेवी भन्छिन्, “कुनै दिन केही काम नहुँदा त्यो दिन काट्न साह्रै गाह्रो हुन्छ।”

घुर्नीदेवी बुहारीबाट गालीगलौज मात्र होइन, घरमा असुरक्षित महसुससमेत गर्थिन्। उनी छोराप्रति गुनासो गर्दै भन्छिन्, “जुन छोराका लागि म के–के मात्रै गरिन्? दुनियाँको सबै दुःख गरे। जति बेला धान रोपेर आउँथे त्यति बेला सुत्नअघि दुई मुठ्ठी भात छोरालाई खुवाउँथे, आधा मुठ्ठी म खान्थे। उसलाई दुःख नहोस् भनी कैयन्को घरमा गएर भाँडा पनि मस्काएँ। तर आज त्यही छोरा मेरा लागि कहीँ कतै छैन।”
एक महिनादेखि गोठको बसाइँले आजित भइसकेका घुर्नीदेवी बताउँछिन्। उनलाई पुनः घर फर्किएर नातिनातिनीसँग समय बिताउन, घरधन्दामा सघाइदिन मन छ। तर बुहारीको व्यवहार सम्झेर उनलाई घर फर्किने इच्छा हुँदैन।
“मेरा नाति प्रत्येक दिनजसो आइरहेका छन्। मलाई सधैँ घर हिँड्न भनिरहेका छन्। म यहाँ हुँदा उनीहरूलाई पनि मन परेको छैन। तर गरोस् त के? उनीहरू त अहिले बच्चै छन्,” घुर्नीदेवी भन्छिन्, “तर म फर्किन्नँ। नातिनातिनीलाई यहीँ भेट्छु। अब छोरा आए पनि आओस्, उसलाई पनि यहीँ भेट्छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
