बेपत्ता छोराको बाटो हेर्दै गुरुङ दम्पती

स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गत साउन २३ गते साँझ घरबाट निस्किएपछि अहिलेसम्म फर्किएका छैन। छोरा बेपत्ता भएपछि गुरुङ दम्पतीको घर सुनसान छ।

नवलपरासी– बडादशैँको टीकाको दिन। गाउँले हर्षोल्लाससाथ दशैँ मनाइरहेका बेला नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानस्थित बोटे टोलका गुरुङ दम्पतीको आँखा भने आँगन तेर्सो आउने बाटो हेर्दै बितिरहेको छ।

स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गत साउन २३ गते साँझ घरबाट निस्किएपछि अहिलेसम्म फर्किएका छैन। छोरा बेपत्ता भएपछि गुरुङ दम्पतीको घर सुनसान छ। विगत तीन वर्षदेखि मिर्गौलाको डायलासिस गराइरहेकी उत्तमकी ५० वर्षीया आमा राजकुमारी गुरुङ चिन्ताले झनै थलिएकी छन्। 

“घरबाट केही नभनी निस्किएको छोराको अवस्था थाहा छैन,” गहभरि आँसु पार्दै राजकुमारीले भनिन्, “कहाँ गएको हो, आफन्त गाउँले मिलेर धेरै ठाउँमा खोज्नुभयो। तर छोराका बारेमा केही थाहा पाउन सकिएन।”

जेठा छोरा बेपत्ता भएपछि दशैँ खल्लो भएको छ। दशैँ मनाउने उत्साह नभएको उनले बताए। “हिँड्ने बेलामा मोबाइल यहीँ छोडेर हिँडेको रैछ”, उनले भने, “गाउँमा कतै गयो होला भनेर सोचेका थियौँ। एक दिन, दुई दिन गर्दै यत्रो दिन बित्यो छोरा घर फर्किएन।” छोरा जहाँ जस्तोसुकै अवस्थामा भए पनि चाँडो घर फर्किन उनले बिन्ती गरिन्। 

उत्तमका ५८ वर्षीय बाबु नन्दे गुरुङलाई छोराले किन घर छाडेर हिँड्यो भन्ने पनि थाहा छैन। “हामी बाउछोरा भएर तरकारीखेती, कुखुरापालन तथा बाख्रा व्यावसायिक रूपमा पाल्दै आएका थियौँ,” उनले भने, “दिनभरि सँगै काम गरेका थियौँ, त्यस्तो नराम्रो केही भएको पनि थिएन, बेलुकी घरबाट बाहिर निस्केको छोरा अझै फर्किएन।” 

छोराको खोजी गर्न धेरै ठाउँ पुगेको र प्रहरी, संघसंस्थासँग गुहार माग्दासमेत नभेटिएको गुरुङको भनाइ छ।

नन्देका बाबुछोरा नै वैदेशिक रोजगारका लागि पाँच वर्ष दुबईमा बसेर स्वदेश फर्किएपछि व्यावसायिक पशुपालन गर्दै आएका थिए। पत्नी बिरामी आएपछि वैदेशिक रोजगारी छोडेर दुवै जना फर्किएका थिए।

“घरको हरेक कामकाजमा सघाउँदै आएको जेठो छोरो बेपत्ता भएपछि कुन खुशीले दशैँ मनाउनु खै”, मलिन मुद्रामा नन्देले भने, “अझै पनि छोरा आउँछ कि भनेर बाटो हेर्दैमा दिनरात कटाउने गरेका छौँ।”

छोरा घर फर्किएमा सबै खुशी फिर्ता आउने र चाडपर्व रमाइलो हुने आशा गुरुङ दम्पतीको छ।