काभा यू-२० भलिबलको फाइनलमा नेपाल पराजित, उज्वेकिस्तानलाई उपाधि

शनिबार सम्पन्न फाइनलमा पहिलो सेट जितेको नेपाल उज्वेकिस्तानसँग समग्रमा ३–१ ले पराजित भएको छ।

काठमाडौँ- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको छ। श्रीलंकाको कोलम्बोमा शनिबार सम्पन्न फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भयो।

खेलको पहिलो सेट भने नेपालले जितेको थियो। तर त्यसपछि लगातार ३ सेटमा पराजित भएपछि नेपाल उपविजेतामा नै सीमित भयो। पहिलो प्रतिस्पर्धात्मक सेटमा नेपाल २७-२५ ले विजयी भएको थियो।

तर त्यसपछिका सेट उज्वेकिस्तानले सहजै जितेको थियो। नेपाल दोस्रो सेटमा २५–१०, तेस्रो सेटमा २५–१६ र चौथो सेटमा २५–२० ले पराजित भयो। नेपाल समूह चरणमा पनि उज्जेवकिस्तानसँग पराजित भएको थियो।

समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई हराएपछि फाइनल प्रवेशको अवसर पाएको थियो। समूह चरणमा नेपालले श्रीलंका, तुर्केमिनिस्तान र माल्दिभ्सलाई पनि हराएको थियो। किर्गिस्तान र उज्वेकिस्तानसँग भने पराजित भएको थियो।

श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए। प्रतियोगिता यही असोज २० गतेदेखि सञ्चालन भएको थियो।