‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनालाई स्वर्ण पदक

वेल्समा असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा ३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको छ।

काठमाडौँ- विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ।

वेल्सको ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको त्यस अभ्यासमा सहभागिता थियो। सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आएको छ। 

दुई दिनभित्र हतियारसहित करिब ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइ तयारी, खबर संकल तथा घाइते–बिरामीको व्यवस्थापनलगायतका दक्षता परीक्षणका आधारमा मूल्यांकन हुने निर्देशनालयले जनाएको छ।

नेपाली सेनाले सन् २०१७ र २०१९ मा समेत त्यस प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेको थियो। यस वर्ष त्यस प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उपरथी दीपककुमार बानिया सम्मानित अतिथिका रूपमा सहभागी थिए।