समुद्रमा जोखिमपूर्ण यात्रा गरिरहेका रोहिंग्या शरणार्थीको उद्धार गर्न यूएनएचसीआरको आग्रह

राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसीआरले भारतीय अण्डमान समुद्रमा जोखिमपूर्ण यात्रा गरिरहेका दुई सय जना शरणार्थीको उद्दार गर्न आग्रह गरेको छ।

राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसीआरले भारतको अण्डमान समुद्रमा डुंडामार्फत जोखिमपूर्ण यात्रा गरिरहेका २०० जना रोहिंग्या शरणार्थीहरूको उद्धार गर्न दक्षिणपूर्वी एसियाली मुलुकहरूलाई आग्रह गरेको छ। 

डिसेम्बर १ मा थाइल्यान्डको तटीय क्षेत्रनजिकै इन्जिन फेल भएर अलपत्र परेका ती शरणार्थीले अहिले भारतको अन्डामन समुद्रमा जोखिमपूर्ण यात्रा गरिरहेको भन्दै उद्धार गर्न यूएनएचसीआरले आग्रह गरेको हो। 

उनीहरूले पानी र खानाको अभावमा लामो यात्रा गरिरहेको र डिहाइड्रेसनबाट ग्रसित भएको र केहीले ज्यान गुमाएको हुनसक्ने पुष्ट खबर बाहिरिएको बताइएको छ। उनीहरूको तत्काल उद्धार नभए डुंडामा सवार थप मानिसको पनि ज्यान जानसक्ने भन्दै युएनएचसीआरले जनाएको छ।

युएनएचसीआरले क्षेत्रीय सरकारहरूलाई यस विषयमा तत्काल कदम चाल्न आग्रह गर्दै आवश्यक मानवीय सहयोगका लागि आफू तयार रहेको बताएको छ। तर ती डुंगाहरू कुनै क्षेत्रमा यात्रा गरिरहेका छन् भन्ने खुलाइएको छैन।

युएनएचसीआरले गत महिना पनि म्यानमारदेखि बंगलादेशदेखि दक्षिणपूर्वी एसियातर्फको डुंडामा जोखिमपूर्ण यात्रा गरिरहेका शरणार्थीको संख्या नाटकीय ढंगले बढेको बताएको थियो। सात वर्षअघि पनि अन्डामान समुद्रमा असुरक्षित यात्रा गर्ने क्रममा कैयौँले ज्यान गुमाएका थिए।

“म्यानमारमा सैन्य शासनका कारण विस्थापित भएका रोहिंग्या शरणार्थीहरू भागेर छिमेकी मुलुक बंगलादेश पुगेका थिए। तर बंगलादेशका शरणार्थी शिविरको दयनीय अवस्थाका कारण उनीहरू पुनः ज्यानको बाजी लगाएर त्यहाँबाट पनि भागिरहेका छन्”, एमनेस्टी इन्टरनेशनलका दक्षिणपूर्वी एसियाका अनुसन्धानकर्ता रचेल छोवा–होवार्डले भनिन्, “समुद्रमा खराब अवस्थामा यात्रा गरिरहेका मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा लैजान पाउनुपर्ने विषय अन्तर्राष्ट्रिय मानवीय कानूनमा समावेश हुनुपर्छ। मानिसहरूको ज्यान जोगाउन यस विषयमा तत्काल काम हुनुपर्छ। मानिसहरूको यो संघर्ष बढिरहने र रोहिंग्याहरूलाई म्यानमार नै पठाउने प्रयास गरे उनीहरू थप उत्पीडनमा पर्नेछन्।”

युएनएचसीआरका अनुसार सन् २०२२ को जनवरीदेखि नोभेम्बरसम्म अधिकांश रोहिंग्यासहित १९ सय २० जना मानिसले म्यानमार र बंगलादेशबाट सामुद्रिक यात्रा गरेका थिए। यो संख्या सन् २०२१ मा २८७ मात्रै थियो।

जोखिमपूर्ण यात्राका क्रममा ११९ जनाले ज्यान गुमाएको वा बेपत्ता भएको भनिएको छ।

म्यानमारको पश्चिमी क्षेत्रको राखिने राज्यमा अल्पसंख्यक रोहिंग्या मुस्लिममाथि म्यानमार सेनाको भेदभाव, दमन र अत्याचारका कारण उनीहरू मुलुक छाडेर भागेका थिए। बौद्ध धर्मावलम्बीको बाहुल्य देश म्यानमारमा मुस्लिम अल्संख्यक रोहिंग्याहरूमाथि सरकारी सेनाले नै अपमानजनक व्यवहार, हत्या र हिंसा गरेका कारण थुप्रै जनता देश छाडेर भागेका थिए। 

म्यानमार सेनाको कदमलाई एम्नेस्टि इन्टरनेशनलले जातिको सर्वनाश अर्थात् जातीय सफाया भन्दै आएको छ। सन् २०१७ मा ७ लाखभन्दा बढी रोहिंग्या म्यानमारबाट भागेर बंगलादेशतर्फ भागेका थिए।

अहिले पनि राखिने राज्यमा बाँकी रहेका रोहिंग्याहरू सरकारी शिविरमा बसेका छन् भने उनीहरूलाई शिक्षा, स्वास्थ्य सेवाको पहुँचबाट अलग गरिएको र स्वतन्त्र हिँडडुल गर्न पनि कडा प्रतिबन्ध लगाइएको एमनेस्टीको भनाइ छ।

-एजेन्सीको सहयोगमा