जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल

जलवायुविद् मञ्जित ढकालले मनसुन ढिला गरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल मान्छन्। यसलाई जलवायु परिवर्तनको असरका रूपमा लिन सकिने उनको भनाइ छ।

काठमाडौँ– जलवायु विज्ञले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल भएको बताएका छन्। यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूको भनाइ छ।। 

जलवायुविद् मञ्जित ढकालले मनसुन ढिला गरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल मान्छन्। उनले यसलाई जलवायु परिवर्तनको असरका रूपमा लिन सकिने प्रतिक्रिया दिएका छन्। यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उनको विश्लेषण छ। यद्यपि, यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उनी जोड दिन्छन्।

उनले दिगो विकासको लागि जलवायुमैत्री विकासको अवधारणा कार्यान्वयन गर्न आवश्यक भएको बताए। “जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिन अपरिहार्य भएको छ,” ‘इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ प्रतिवेदन उद्धरण गर्दै उनले भने। 

मौसमविद् विष्णु घिमिरे पनि मनसुन प्रणाली ढिलो टुंगिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्नेमा जोड दिन्छन्। जलवायु परिवर्तनको असरका कारण मनसुन प्रक्रियामा तलमाथि भएको हुनसक्ने उनको बुझाइ छ।