पाकिस्तानको कुर्रममा भएको साम्प्रदायिक झडपमा १६ जनाको मृत्यु

कुर्रम प्रशासनका एक वरिष्ठ अधिकारीले साम्प्रदायिक झडपमा दुई बालबालिका, तीन महिलासहित १६ जनाको मृत्यु भएको बताएका छन्।

फाइल तस्वीर

पाकिस्तानको उत्तर–पश्चिम दुर्गम क्षेत्रमा भएको साम्प्रदायिक झडपमा दुई बालबालिका, तीन महिलासहित १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सुन्नी र सिया मुस्लिम समुदायबीच लामो समयदेखि द्वन्द्व जारी छ। कुर्रममा दुई सम्प्रदायबीच वर्षौंदेखिको रक्तपातपूर्ण भिडन्तबाट सयौँको ज्यान गइसकेको छ।

सुन्नीहरूको एउटा समूह शनिबार अर्धसैनिकको सुरक्षामा यात्रा गरिरहेको अवस्थामा आक्रमणमा परेको कुर्रम प्रशासनका एक वरिष्ठ अधिकारीले नाम नखुलाउने शर्तमा बताए।

ती अधिकारीका अनुसार उक्त आक्रमणमा १४ जनाको मृत्यु भएको थियो भने प्रहरीको जवाफी कारबाहीमा दुई जना आक्रमणकारीको मृत्यु भएको थियो।

यहाँ जुलाईदेखि सेप्टेम्बरसम्ममा भएका झडपमा दर्जनौँ मानिसको मृत्यु भएको छ। आदिवासी परिषद्ले युद्धविराम बोलाएपछि मात्र अवस्था केही शान्त भएको जनाइएको छ।  

अधिकारीहरूले नयाँ युद्धविरामको मध्यस्थता गर्ने प्रयास गरिरहेका छन्। यद्यपि उक्त समुदायले परम्परागत आदिवासी नियमहरू अवलम्बन गर्ने भएकाले दुर्गम क्षेत्रहरूमा पुनः हिंसात्मक घटना हुन सक्ने जनाइएको छ। 

सुन्नी मुस्लिम समुदायको बाहुल्यता भएको पाकिस्तानमा सिया समुदायले लामो समयदेखि भेदभाव र हिंसाको सामना गर्दै आएका छन्।