लमजुङ जिप दुर्घटनाका गम्भीर घाइतेलाई भरतपुर पठाइयो

लमजुङ जिप दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको प्रहरीले जनाएको छ।

काठमाडौँ– लमजुङमा आइतबार भएको यात्रुवाहक जिप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ।

सारिङबाट सदरमुकाम बेँशीसहर जाँदै गरेको ग १ ज ८५५१ नम्बरको जिप आइतबार बिहान ११ः२० बजेतिर मकैडाँडा मोडमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी चालकसहित २२ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले बताए। उनीहरूलाई टाउकोमा चोट लागेका छ। 

उनका अनुसार अन्य घाइतेको जिल्ला भित्रैका अस्पतालमा उपचार भइरहेको छ। सडकको भिरालो मोड काट्न नसकेर जिप भित्तामा ठोकिँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ।