चीनको सैन्य अभ्यासमा ताइवानको जवाफ– 'राष्ट्रिय सुरक्षा कायम गर्न सक्षम छाैँ'

ताइवान वरपरको समुद्री क्षेत्रमा चिनियाँ सेनाले गरेको सैन्य अभ्यासलाई लिएर ताइवानले प्रतिक्रिया दिएको छ। 

चिनियाँ सेनाको सैन्य अभ्यास

ताइवान वरपरको समुद्री क्षेत्रमा चिनियाँ सेनाले गरेको सैन्य अभ्यासलाई लिएर ताइवानले प्रतिक्रिया दिएको छ। 

ताइवानका राष्ट्रपति विलियम लाइको कार्यालयबाट जारी विज्ञप्तिभा भनिएको छ,  “चीनले ताइवानी जनताको स्वतन्त्रता र लोकतान्त्रिक जीवन शैलीको सम्मान गर्नुपर्छ र आफ्नो सैन्य आक्रमण रोक्नु पर्छ।”

यसले ताइवानको सिमानाको दुबै छेउमा शान्ति र स्थायित्व कायम राख्नु साझा जिम्मेवारी भएको पनि विज्ञप्तिमा उल्लेख छ। “हाम्रो सरकार हाम्रो संवैधानिक प्रणालीको लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्न प्रयासरत रहनेछ। हामी हाम्रो राष्ट्रिय सुरक्षा कायम गर्नमा विश्वस्त र सक्षम छौँ।”

त्यही समयमा, रोयटर्स समाचार एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यालयले ताइवान वरपर चीनको सैन्य अभ्यासको निगरानी गरिरहेको जनाएको छ। अमेरिकी प्रशासनले लाइको नियमित भाषणपछि यस्तो अभ्यासको कुनै औचित्य नरहेको बताएको छ। चीनले यस क्षेत्रको शान्ति र स्थायित्वलाई खतरामा पार्नबाट अलग रहनुपर्ने पनि अमेरिकाको भनाइ छ।

यसअघि चिनियाँ सेनाको पूर्वी कमान्डले ताइवान वरपर आयोजित सैन्य अभ्याससँग सम्बन्धित तालिमको एक भिडियो सार्वजनिक गरेको थियो। उक्त भिडियोमा बेइजिङको सैन्य शक्ति, युद्धपोत, लडाकु विमान, बख्तरबंद सैन्य सवारी साधन र मिसाइल लन्चरहरू देखाइएको छ।

चिनियाँ मिडिया आउटलेट ग्लोबल टाइम्सले उक्त भिडियोले चिनियाँ सेनाको पूर्वी कमान्डको तयारी देखाएको बताएको छ। युद्ध स्थितिको सामना गर्न चिनियाँ सेना कत्तिको तयार र सक्षम छ भन्दै भिडियो शेयर गरेको छ।