ठगीमा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखको ‘घुमुवा हुँ’ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी)को ‘घुमुवा हुँ’ भन्दै  स्थानीय व्यापारीबाट पैसा असुली गरिरहेको भन्ने सूचनाका आधारमा रौतहट परोहा नगरपालिका– २ लालबकैयाका ३५ वर्षीय बैठालाई गएराति पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।

सादा पोसाकको घुमुवा प्रहरीका रूपमा आफ्नो परिचय दिएर रौतहटमा ठगीमा संलग्न बैठाका साथबाट २२ पोका गाँजा, नाइट्रोभेट ट्याब्लेट १० चक्की, कोकस डिएक्स–एक बोतल, मोबाइल एक थान, नगद १७ हजार ९०० रुपैयाँ र प्रदेश २–०३–०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए।

आपराधिक गतिविधिमा संलग्न बैठालाई अहिले इलाका प्रहरी कार्यालय गरुडामा राखी थप अनुसन्धान भइरहेको रौतहट प्रहरी कार्यालयले जनाएको छ।