दशैँमा सुनसान बनेको काठमाडौँ उपत्यकामा बढ्न थाल्यो चहलपहल

काठमाडौँ उपत्यकाका सडकमा सवारीसाधन बढ्नुका साथै मानिसको आवतजावत क्रमिक रूपमा बढ्न थालेको छ।

काठमाडौँ– काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन सोमबारबाट पुनः बढ्न थालेको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सोमबार पनि टीका थाप्न जाने सर्वसाधारणको चहलपहल देखिएको छ।

दशैँमा सुनसान देखिएका संघीय राजधानी काठमाडौँका सडकमा अहिले सवारीसाधनको संख्या बिस्तारै बाक्लिन थालेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार सोमबार उपत्यकाका सडकमा निजी सवारीसाधन बढी देखिएका छन्। दशैँ अवधिमा काठमाडौँ उपत्यकामा छिटपुट बाहेकका ठूला सवारी दुर्घटना नभएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए।

“अन्य वर्षको तुलनामा यो वर्ष काठमाडौँ उपत्यकामा ठूला सवारी दुर्घटना भएनन्। हाम्रा लागि यही राम्रो कुरो हो। दशैँ सबैले राम्रोसँग मनाउन पाए, हामी खुशी छौँ,” उनले भने। अहिले यहाँका सडकमा सवारीसाधन बढ्नुका साथै मानिसको आवतजावत क्रमिक रूपमा बढ्न थालेको छ।

दशैँका लागि उपत्यका बाहिर गएकाहरू पनि काठमाडौँ फर्किने क्रम जारी रहेको प्रहरीले जनाएको छ।