विपद् उद्धारमा खटिएका सशस्त्र प्रहरी निरीक्षक बडुवालको निधन

विपद् उद्धार तथा राहत वितरणमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ।

काठमाडौँ– विपद् उद्धार तथा राहत वितरणमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ। उनको उपचारका क्रममा सोमबार बिहान नेपाल एपीएफ अस्पताल, बलम्बुमा निधन भएको हो।

बडुवालाई ज्वरोलगायत स्वास्थ्य समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरिएको थियो। उपचार गरेकोमा सोमबार बिहान उनको निधन भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले बताए।

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेको पनौती नगरपालिका–५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो। सोही बेसमा साउन ३ गतेदेखि उनी कमान्डर रहेका थिए। 

पछिल्लो समय असोज ११ गतेदेखिको अविरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्धारका लागि उनको कमान्डमा सशस्त्र प्रहरी बल खटिएको थियो। 

सो बेसबाट काभ्रेको रोशी, भुमिडाँडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङलगायतका स्थानमा जनशक्ति परिचालित थियो। 

बर्दिया घर भएका बडुवालले २०६० सलबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका थिए। उनको सोमबार साँझ पशुपति आर्यघाटमा फौजी सम्मानसाथ अन्त्येष्टि गरिने प्रवक्ता थापाले बताए।