डारोन, साइमन र जेम्सलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

सन् २०२४ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार डारोन एसेमोग्लु, साइमन जोन्सन र जेम्स ए. रोबिन्सनलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। 

सन् २०२४ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा तीन जना अमेरिकी अर्थशास्त्रीलाई प्रदान गरिने भएको छ। 

नोबेल पुरस्कार समितिले सोमबार स्विडेनको राजधानी स्टकहोममा अर्थशास्त्रीहरू डारोन एसेमोग्लु, साइमन जोन्सन र जेम्स ए. रोबिन्सनलाई संयुक्त रूपमा अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने घोषणा गरेको हो। 

‘संस्थाको सिर्जना कसरी हुन्छ र समृद्धिलाई कसरी प्रभावित पार्छ भन्ने अध्ययन’का लागि उनीहरूलाई यो पुरस्कार प्रदान गर्न लागिएको हो। डारोन र साइमन म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा र रबिन्सन सिकागो विश्वविद्यालयमा कार्यरत छन्।

उनीहरूले केही देश सफल र केही असफल हुनुको कारणबारे अनुसन्धान गरेका थिए। रोयल स्विडिस एकेडेमी अफ साइन्सेजको नोबेल कमिटीले जारी गरेको घोषणामा तीनै जना अर्थशास्त्रीले देशको समृद्धिका लागि सामाजिक संस्थाले पार्ने प्रभावलाई दर्साएको उल्लेख छ। 

“देशहरूबीच आयमा गहिरिँदै गएको खाडललाई कम गर्नु वर्तमान समयको सबैभन्दा ठूलो चुनौती हो। पुरस्कार विजेताले देशमा समृद्धि प्राप्तका लागि सामाजिक संस्थाको प्रभावबारे दर्साएका छन्,” समितिका अध्यक्ष ज्याकोब स्वेन्सनले भने।

अल्फ्रेड नोबेलको सम्झनामा नोबेल पुरस्कार प्रदान गर्ने गरिन्छ।