बाढीले सुनसरीमा साढे २ करोडको तरकारी बाली क्षति

बाढीले इनरुवासहित हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्र लगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नीलकमल सिंहले जानकारी दिए।

सुनसरी– असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा दुई करोड ५० लाख रुपैयाँ बराबरको तरकारी बाली क्षति भएको छ।

सुनसरी सदरमुकाम इनरुवासहित हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्र लगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नीलकमल सिंहले जानकारी दिए। बाढीले बन्दा, भन्टा, लौका, फर्सीलगायत तरकारी बालीमा क्षति पुगेको हो।

“बाढीका कारण सुनसरीमा एक सय पाँच हेक्टर क्षेत्रफलको तरकारी बाली क्षति गरेको छ, केरा खेतीमा पनि बाढीबाट क्षति भएको छ,” प्रमुख सिंहले भने। 

स्थानीय किसान रामबृक्ष मेहता बाढीले तरकारी बालीमा क्षति पुगेपछि आम्दानीको स्रोत गुमाउनुपरेको बताए। बाढीले ५० हेक्टरमा लगाएको एक लाख ८० हजार रुपैयाँ बराबरको उखुबालीमा क्षति भएको उनले बताए। 

जिल्लामा आठ हजार १५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती तथा पाँच हजार ८७७ हेक्टरमा उखु खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ।