रिपोर्टिङ अनुभव: पहिरोमा पुरिएको त्यो क्षण

सात वर्षअघि पहिरोले बस च्यापिँदा बाँचेको मलाई अहिले पनि बर्खाको समयमा यात्रा गर्न डर लाग्छ। पहिरोमा बस च्यापिएका घटनाले दुईतीन दिनसम्म विचलित बनाउँछ।

झ्याप्लेखोलाको पहिरोमा पुरिएर सर्वसाधारणले ज्यान गुमाएको घटना मानसपटलमा ताजै छ। यो घटनाले मलाई केही दिनसम्म विचलित बनायो। यस्तै घटनामा परेर २०७४ साउन २८ गते ‘भाग्य’ले बाँचेको कारण पनि मेरो मनस्थिति थिर भएन।

मलाई त्यो घटना स्मरण गराउने नागढुंगा–नौबिसे सडकखण्डको झ्याप्लेखोलाको पहिरोमा तीन वटा सवारीसाधन पुरिँदा ३५ जनाको मृत्यु भयो। त्यति मात्र नभई, असोज ११ र १२ गतको भारी वर्षाले मुलुकभर ठूलो धनजनको क्षति भयो।

उक्त घटनापछि सात वर्षअघि पहिरोमा पुरिएर आफू बाँच्दाको यो स्मरण लेख्न धेरै पटक प्रयास गरेँ तर ल्यापटपको किबोडमा औँला अघि बढेनन्। कैयन् प्रयत्नपछि पहिरोले बस च्यापिएर आफू बाँच्दाको संस्मरण लेख्न सकेको छु।

त्यतिखेर हिमालखबर पत्रिकामा आबद्ध थिएँ। २०७२ सालमा नेपालको संविधान जारी भएपछि पहिलो पटक स्थानीय तहको निर्वाचन हुँदै थियो। पहिलो र दोस्रो चरणका निर्वाचन सम्पन्न भइसकेका थिए। मधेशकेन्द्रित राजनीतिक दलहरूको विरोधका कारण मधेशमा स्थानीय तहको निर्वाचन हुन सकिरहेको थिएन।

पहिलो चरणको निर्वाचनको रिर्पोटिङका लागि २०७४ वैशाख १ गते विराटनगर ओर्लेर तत्कालीन प्रदेश नं. १ का केही जिल्ला र २ का सप्तरी, सिरहालगायत जिल्लाका गाउँ–गाउँसम्म पुगेर मतदातासँग अन्तरक्रिया गरी चुनावी रिर्पोटिङ गरेँ।

काठमाडौँ फर्केर घरबाटै स्टोरी लेखी इमेल गरेपछि कार्यालय पुगेर वस्तुस्थितिबारे सम्पादक किरण नेपाललाई अवगत गराएँ। मेरो ब्रिफिङ सुन्नेबित्तिकै सम्पादक नेपालले भने, “तिमी भोलि नै रिर्पोटिङका लागि फेरि तराई जाऊ, पैसा के कति चाहिने हो लेखाबाट लैजानू।” 

म फिल्ड रिपोर्टिङ भनेपछि रमाउने किनभने स्थलगत रिर्पोटिङमा क्रममा सामाजिक परिवेश बुझ्ने अवसर मिल्छ, ‘अब्जरभेसन’बाट स्टोरी लेखन नै पृथक् बन्छ। सम्पादकले पुनः तराई/मधेशमै जान भनेको मेरो त्यही कुरा बुझेर होला।

मेरो व्यक्तिगत कारणले भोलिपल्ट नै जाने अवस्था भएन। एक हप्तापछि जनकपुर ओर्लेर दोस्रो चरणमा जनकपुर, महोत्तरी, सिरहा, सर्लाहीको भ्रमण गरेँ। एक हप्ता मध्यतराईका जिल्लाको भ्रमणपछि सिरहाबाट ‘स्टोरी फायल’ गरेँ। अनि त्यहीँबाट हानिएँ पश्चिम तराईका जिल्ला कपिलवस्तु र रुपन्देहीतिर। त्यहाँ पनि ‘कोर देहात’ केन्द्रित भएर चुनावी रिपोर्टिङ गरेँ।

त्यति बेला चितवनको भरतपुर चर्चामा थियो। भरतपुर महानगरपालिकाको मेयरमा माओवादी–कांग्रेसको संयुक्त उम्मेदवारका रूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली उम्मेदवार थिए। सम्पादकको निर्देशनपछि चितवन पुगेर रिपोर्टिङ गरेँ। जनकपुर ओर्लेको झन्डै २० दिनपछि काठमाडौँ फर्कें।

सबै प्रदेशमा निर्वाचन सम्पन्न भयो। तर तत्कालीन प्रदेश नं. २ मा भने निर्वाचन हुन सकेन। सरकारले २०७४ असोज २ गते निर्वाचन गर्ने घोषणा गर्‍यो। सबै प्रदेशका स्थानीय तहको निर्वाचन नतिजा आइसकेको थियो। निर्वाचनमा एमाले पहिलो भएको थियो भने कांग्रेस दोस्रो स्थानमा। मधेशको चुनावी माहोल एमालेका लागि प्रतिकूल थियो। एमाले मधेशविरोधी पार्टीका रूपमा चित्रित थियो। परिस्थिति यस्तो थियो कि, एमालेका कार्यकर्ता पार्टीको झन्डा बोकेर ढुक्कसँग चुनावी प्रचारमा हिँड्नसक्ने अवस्थासमेत थिएन। सबै राजनीतिक दलसँगै सञ्चारमाध्यमहरूको पनि ध्यान मधेशमा केन्द्रित थियो।

साउनको २६ गते मधेशमा स्थानीय तहको रिर्पोटिङका लागि म पुनः जनकपुर ओर्लें। तर बर्खाको समय, मौसम प्रतिकूल थियो। काठमाडौँबाट हिँड्दा नै झरी परिरहेको थियो। अहिले म कहीँकतै जानुपर्दा झरी पर्ने सम्भावनाबारे राम्रोसँग सोधीखोजी पछि मात्र यात्रा तय गर्छु। तर त्यति बेला शायद जलवायुको रिर्पोटिङमा त्यति अभ्यस्त भइनसकेकाले जल तथा मौसम विज्ञान विभागका मौसमविद्सँग समन्वय गरिनँ।

काठमाडौँमा विमानमा बस्दा नै मनमा एक प्रकारको डर पैदा भएको थियो। विमानमा बसिसकेपछि एक पटक ओरालेर फेरि बसालियो। मौसमी अवस्थालाई हेर्दा एकमनले जनकपुर नगएर घर फर्किऊँ भन्ने पनि लाग्यो। तर सम्पादकले भनेपछि नफर्किने निधो गरेँ।

काठमाडौँबाट जनकपुर नपुग्दासम्म कहीँकतै जमिन देखिएन। टम्म कुहिरोले छोपेको थियो। जनकपुर ओर्लेर त्यसै दिनदेखि रिपोर्टिङका लागि भेटघाट थालेँ। त्यही साँझबाट घनघोर वर्षा शुरू भयो। अर्को दिन पनि जनकपुरमा बिताएपछि सर्लाही पुगेँ। सर्लाहीका केही गाउँ डुल्दाडुल्दै वर्षाका कारण हिँडडुल गर्न सक्ने अवस्था भएन। अनि साउन २८ गते रौतहटको चन्द्रनिगाहपुर आएर बसियो। त्यस रात यति भारी वर्षा भयो कि मधेश पूरै डुबानमा पर्‍यो। न पूर्व जानसक्ने अवस्था थियो न पश्चिम। विद्युत्, इन्टरनेट सबै ठप्प। अब यहीँ बसेर चुनावी रिपोर्टिङ गर्नसक्ने सम्भावना नै थिएन, किनकि गाउँ–गाउँ पुग्ने सबै मार्ग जलमग्न थिए।

कम्तीमा भरतपुरसम्म पुगे काठमाडौँ फर्किन सकिने सोचेर पश्चिम हानिने योजना बन्यो। तर वर्षाले सडक अवरुद्ध भएर सवारीसाधन ठप्प थिए। बल्लतल्ल चन्द्रनिगाहपुरबाट एउटा मिनिबस पश्चिमका लागि त छुट्यो, निजगढ नपुग्दै बाढीका कारण अघि बढ्न सकेन। दुई घण्टा रोकिएपछि बाढी केही घट्यो र बस अघि बढ्यो। तर पथलैया र निजगढको जंगलबीचका स–साना खहरे बढेर बाटो अवरुद्ध भयो। जेनतेन पथलैया पुगियो। चालक बस बिग्रिएको भन्दै मर्मतमा लागे। बस मर्मत गरी अगाडि बढ्न झन्डै दुई घण्टा लाग्यो।

पथलैयाबाट हेटौँडातर्फ लाग्दा दिउँसोको ३ जति बजेको हुनुपर्छ। पथलैयाबाट अघि बढ्ने र मुसलधारे वर्षा शुरू हुने एकै पटक भयो। जुन त्यस वर्षसम्मको सबैभन्दा बढी वर्षा ५१६.२ मिलिमिटरको रेकर्ड थियो। यस वर्ष कञ्चनपुरमा भएको ६२४ मिलिमिटर वर्षाले उक्त रेकर्ड तोडिएको छ। 

मकवानपुरको चुरियामाईस्थित सुरुङ भएको स्थान आउनुभन्दा करिब डेढ किलोमिटर यता अमलेखगन्ज आइपुग्दा पहिरो गएर सवारीसाधनको लामो लाइन भइसकेको थियो। सडकभन्दा माथिको जमिन र रूख बगिरहेका थिए। हेर्दाहेर्दै रूखसहितको पहिरो हामी सवार बसमाथि खस्यो। पछाडि बसेको म पहिरोले हिलाम्मे भएँ। बसका सिसाका टुक्रा र ढुंगाले अनुहारमा सामान्य चोट लाग्यो भने शरीरको दायाँ भाग लछार्‍यो। 

त्यति बेला चालकले हामीलाई बताए अनुसार हिँडिरहेको बसमा खसेको भए बस सिधै हुत्तिएर खोलामा पुग्थ्यो। बढेको खोला र बस पल्टिँदा मानवीय क्षति हुन सक्थ्यो। शायद बाँच्न लेखेको भएर होला, ढुंगाबिनाको माटेपहिरो खसेको हुनाले र बस नपल्टिएकाले कसैलाई केही भएन। 

उक्त घटनापछि भने म बर्खायाममा स्थलमार्गबाट यात्रा गर्न डराउँछु। कुनै ठाउँमा पहिरोमा बस पुरिए कि त्यही सात वर्ष पुरानो घटनाको झल्को आउँछ।