उत्तरी लेबनानमा घातक इजरायली आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघले उत्तरी लेबनानको आइटो गाउँमा भएको इजरायली आक्रमणको ‘तत्काल, स्वतन्त्र र विस्तृत अनुसन्धान’को माग गरेको छ।

संयुक्त राष्ट्रसंघले उत्तरी लेबनानको आइटो गाउँमा भएको इजरायली आक्रमणको ‘तत्काल, स्वतन्त्र र विस्तृत अनुसन्धान’को माग गरेको छ। उक्त आक्रमणमा २२ सर्वसाधारणको मृत्यु भएको बताइएको छ। 

“१२ महिला र दुई बालबालिकासहित २२ जना मारिएको हामीले सुनेका छौँ,” सोमबारको आक्रमणबारे पत्रकारलाई बताउँदै संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले भने, “यी तथ्यलाई ध्यानमा राख्दा हामीलाई युद्धको कानून र विभेद, अनुपात र समानुपातिकताका सिद्धान्तका सम्बन्धमा वास्तविक चिन्ता छ, हाम्रो कार्यालयले यस घटनाको तत्काल, स्वतन्त्र र विस्तृत अनुसन्धान आह्वान गर्दछ।”

सेप्टेम्बरमा लेबनानमा आक्रमण गरेयता इजरायलका धेरै आक्रमण अहिलेसम्म मुख्यतया हिजबुल्लाहले आफ्नो शक्ति आधार निर्माण गरेको दक्षिणी क्षेत्रका सिया मुस्लिम बहुल क्षेत्रहरूमा केन्द्रित भएका छन्। 

सोमबार भएको आक्रमणस्थलमा रहेका एएफपीका एक फोटोग्राफरका अनुसार उक्त आक्रमणले इसाई बहुल गाउँको प्रवेशद्वारमा रहेको एउटा आवासीय भवनलाई ध्वस्त पारेको थियो। 

भग्नावशेषमा शरीरका अंगहरू छरिएका थिए, रेडक्रसका स्वयंसेवकले भग्नावशेषमा बाँचेकाको खोजी गरिरहेका थिए भने एम्बुलेन्सहरूले घाइतेहरूको उद्धार गरिरहेका थिए। 

हिजबुल्लाहले करिब एक वर्षदेखि इजरायलसँग सीमापार गोलाबारी गर्दै आएको छ। उक्त समूहले गाजामा इजरायलको विनाशकारी स्थल र हवाई आक्रमणको जवाफमा आक्रमण गरेको बताउँदै आएको छ। 

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी समूह हमासको सशस्त्र शाखाले गाजाबाट इजरायलमा अचानक आक्रमण गरेपछि गाजा युद्ध शुरू भएको थियो। 

इजरायल–लेबनाा सीमामा करिब दैनिक गोलाबारीका कारण गत महिना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लालाई कुल्चने प्रतिज्ञा गरेपछि नाटकीय रूपमा तनाव बढ्नुअघि नै दुवैतर्फका दशौँ हजार मानिस विस्थापित भएका थिए।