भदौमा ५.५ प्रतिशतले बढ्यो विदेशी मुद्रा सञ्चिति

भदौ महिनासम्मको विदेशी मुद्रा सञ्चिति १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।

काठमाडौँ– चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार कुल विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशतले वृद्धि भई २१५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो। असारमा विदेशी मुद्रा सञ्चिति २०४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको थियो।

अमेरिकी डलरमा यस्तो सञ्चिति ५ प्रतिशतले वृद्धि भई भदौमा १६ अर्ब ४ करोड पुगेको छ। असारमा भने १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको थियो। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ४.४ प्रतिशतले वृद्धि भई १९३८ अर्ब ९९ करोड पुगको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १६.१ प्रतिशतले वृद्धि भई २२३ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ। विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

चालु आर्थिक वर्षका दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.८ महिनाको वस्तु आयात धान्न सक्ने राष्ट्र बैंकको भनाइ छ। त्यस्तै, १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको प्रतिवेदनमा उल्लेख छ।

भदौमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ३७.७ प्रतिशत, ११४.४ प्रतिशत र ३०.८ प्रतिशत रहेको छ।