गाजामा मानवीय सहायता नबढाए इजरायलबाट सैन्य सहयोग कटाैती गर्ने अमेरिकाको चेतावनी

इजरायलले गाजामा पठाइने ९० प्रतिशत मानवीय सहायतालाई रोकेको अमेरिकाले इजरायललाई पठाएको पत्रमा उल्लेख छ।

इजरायली आक्रमणपछि गाजामा भोकमरी बढेको छ। तस्वीर: रोयटर्स

गाजामा मानवीय सहायताको पहुँच बढाउन अमेरिकाले इजरायललाई पत्रमार्फत ३० दिनको समय दिएको छ। त्यसो नभए अमेरिकाले सहयोग रोक्ने चेतावनी दिएको छ।

अमेरिकाले आइतबार नै इजरायललाई यो पत्र पठाएको हो। यो अमेरिकाको इजरायललाई अहिलेसम्मकै सबैभन्दा कडा चेतावनी हो। हालै इजरायलले गाजाको उत्तरी भागमा ठूलो मात्रामा आक्रमण गरेको थियो। इजरायली आक्रमणमा निकै धेरै संख्यामा मानिसहरू घाइते भएको बताइएको छ। त्यसपछि अमेरिकाले यो कदम चालेको हो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा झन्डै एक लाख प्यालेस्टिनी घाइते भएका छन्।

अमेरिकाले लेखेको पत्रमा गाजा क्षेत्रमा बिग्रँदै गएको मानवीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। इजरायलले उक्त क्षेत्रमा पठाइने ९० प्रतिशत मानवीय सहायतालाई रोकेको वा अवरुद्ध गरेको पनि पत्रमा उल्लेख गरिएको छ।

इजरायली अधिकारीका अनुसार इजरायलले हाल अमेरिकाको पत्रको समीक्षा गरिरहेको छ र यसलाई गम्भीरतापूर्वक लिएको छ। यद्यपि इजरायलले यसअघि गाजामा हमास लडाकुहरूलाई निशाना बनाएको र मानवीय सहायता रोक्न नसकेको बताएको थियो। –बीबीसीबाट