नाइजेरियामा विश्व जुम्ल्याहा उत्सव (तस्वीरहरू)

नेपालमा जुम्ल्याह सन्तानलाई राम–लक्ष्मण तथा गंगा-जमुना जस्ता नाम दिने गरिएझैँ नाइजेरियामा पनि उनीहरूको विशेष नाम राख्ने चलन छ।

तस्वीरहरू: एएफपी

नाइजेरियाको इग्बो–ओरा शहरलाई जुम्ल्याह बच्चाको राजधानी मानिन्छ। यहाँ एक विशेष उत्सव आयोजना गरेर जुम्ल्याह बच्चाहरूको उच्च जन्मदरको खुसियाली मनाइने गरिन्छ। यस पर्वमा बच्चादेखि वृद्धसम्म जुम्ल्याह भटिन्छन्।

संगीत, ट्यालेन्ट शोलगायत विभिन्न कार्यक्रम गरी मनाइएको यस वर्षको जुम्ल्याह उत्सव हेर्न नाइजेरियालगायत विश्वका विभन्न ठाउँबाट अक्टोबर १२ मा मानिसहरू इग्बो–ओरा शहर पुगे। ओबा केहिंगे गबाडेवोले ओलुगबेनले भने, “इग्बो–ओरामा सायदै कुनै परिवार होला, जहाँ जुम्ल्याह बच्चा छैनन्।” नाइजेरियामा येवलैन्डका सर्वोच्च नेता गबाडेवोले आफैँ पनि जुम्ल्याह हुन्।

यस पर्वमा जुम्ल्याह बच्चाहरूले एकसमान कपडा लगाउँछन्। योरुबा संस्कृतिमा जुम्ल्याह बच्चाको सम्मान गरिन्छ र उनीहरूको नाम पारम्पारिक तवरले राख्ने गरिन्छ। 

नेपालमा प्रायजसो छोरा जुम्ल्याह भए राम–लक्ष्मण र छोरी जुम्ल्याह भए गंगा–जमुना राख्ने चलन छ। योरुबाहरूले पनि जुम्ल्याह सन्तानमध्ये जेठोको नाम ताइवो राख्छन्, जसको अर्थ ‘दुनियाँलाई चाख्ने’ भन्ने हुन्छ र कान्छो सन्तानको नाम केहिंडे राख्छन्, यसको अर्थ ‘जो पछि आयो’ भन्ने हुन्छ।

इग्बो–ओरा शहरमा बच्चादेखि वृद्धसम्म जुम्ल्याह मानिसहरू यत्रतत्र भेटिन्छन्। विश्वमा जुम्ल्याहदर प्रति एक हजारमा १२ जना छन् भने यस शहरमा प्रति एक हजारमा ४५ जना जुम्ल्याह भेटिन्छन्।

यहाँका मानिस जुम्ल्याह बच्चा पाउनुलाई वरदान मान्छन्। जुम्ल्याह बच्चा जन्मिनुमा यस क्षेत्रका मानिहरू विभिन्न कुरामा विश्वास गर्छन्। तीमध्ये धेरैजसोले खानामा भिन्डीका पात र अमलाको प्रयोगलाई जुम्ल्याह दर बढ्नुको कारण ठान्छन्। तर वैज्ञानिकहरू भने यस कुरामा विश्वास गर्दैनन्। 

नाइजेरिया आर्थिक संकटसँग जुधिरहेको छ। दैनन्दिनको चिन्ताले घेरिएका यहाँका स्थानीयको लागि यो पर्व खुसी साट्ने उपयुक्त थलो पनि बनेको छ।