डडेलधुरा बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो, १२ घाइतेलाई धनगढी पठाइयो

घटनास्थलमा बसको छतमुनि च्यापिएको अवस्थामा थप एउटा शव फेला परेको प्रहरीले जनाएको छ।

डडेलधुरा– डडेलधुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। घटनास्थलमा बसको छतमुनि च्यापिएको अवस्थामा थप एउटा शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो।

बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए। उनका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव बुधबार बिहान ११ बजेतिर मात्रै फेला परेको हो। 

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीका लागि छुटेको पवनदूत यातायातको ना८ख १०७८ नम्बरको बस गएराति डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा मृत्यु भएका अन्य चार जनाको पनि यसअघि नै सनाखत भइसकेको छ। पुर्चौंडी–३ बस्ने ४५ वर्षीय जैमती बोहरा, दुई दिनका शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको पनि घटनास्थलमै मृत्यु भएको हो। 

दुर्घटनामा परी गम्भीर घाइते भएका बसचालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिए। दुर्घटनामा अन्य ११ जना पनि घाइते छन्। 

बस सडकबाट झन्डै तीन सय मिटर खसेर पोखरा–बेलापुर सडकमा परेको छ। दुर्घटनाग्रस्त बस क्षतविक्षत अवस्थामा छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। दुर्घटनामा परी अन्य पनि बेपत्ता भएको आशंकामा स्थानीय र प्रहरी खोजतलास जारी राखेका छन्।